बहराइन राजकुमारलाई गोरखालीको उपहार : चुचुरोको नाम ‘रोयल बहराइन पिक’

तस्वीर सौजन्य : सेभेन समिट ट्रेक

गोरखा । बहराइन रोयल फोर्सको टोली यतिबेला नेपालमा छ । कुल १८ जनाको टोली नेपालका दुई हिमाल लोबुचे र मनास्लुको आरोहणका दौरान आएको हो । उनीहरुको नेपाल भ्रमणले कोरोनाबाट प्रभावित नेपालको पर्यटन पुनरुद्धारमा ठूलो योगदान दिएको छ । नेपाली पनि पाहुनालाई खुसी राख्ने मामलामा कमजोर छैनन् । उनीहरुले रोयल फोर्सको सम्मानमा एउटा डाँडोको नामै फेरिदिएका छन् ।

यो टोलीमा बहराइन राजपरिवारका सदस्य राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा समेत सहभागी छन् । उनीसहितको टोली मनास्लु आरोहणका लागि गोरखा पुगेको छ । गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा एउटा डाँडालाई स्थानीयबासीले बहराइनको राजपरिवारको नामबाट नामाकरण गरिदिएका हुन् ।

सामागाउँका स्थानीयले पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरेका छन् । यसले आगामी दिनमा समेत यस मुलुकबाट आउने पर्यटकलाई यो स्थानसम्म आइरहन प्रेरित गर्ने विश्वास स्थानीयको छ । नेपालीले भौतिक उपहार दिन नसकेपछि माया र सम्मान दिन सक्ने भन्दै डाँडाको नाम नै राजपरिवारको नामबाट राखिएको छ ।

राजकुमार गाउँमा आउनुभन्दा अगाडी नै गाउँ भेला गरेर पहाडलाई बहराइनको नाम दिने निर्णय गरेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । गाउँलेले नामाकरण गरेको डाँडो हेर्न राजकुमार हेलिकोप्टर चढेर पुगेका थिए । यसअघि यहाँ स्वर्गीय राजा वीरेन्द्र पुग्दा गाउँलेले त्यहाँको सबैभन्दा ठूलो तालको नाम वीरेन्द्र नामाकरण गरेका थिए । रोयल बहराइन पिक ५,१६० मिटर अग्लो हो ।