काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।
कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुन्। उता अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।
२०२० सालमा चीन सरकारको अनुदान सहयोगमा बाँसबारी छाला तथा जुत्ता कारखाना स्थापना भएको थियो। २०४० को दशकको शुरूदेखि सरकारी निकायहरूबाटै कारखाना निरन्तर घाटामा रहेको प्रतिवेदन तयार हुन थाल्यो। लगातार घाटा बेहोरेको देखाएर कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी बिक्री गर्ने निर्णय गरियो। त्यसपछि, २०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१औँ बैठकले प्रतिरोपनी २ लाख ५० हजारका दरले कुल १५ लाख रुपैयाँमा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो।
च्याम्पियन फुटवेयर लिमिटेडको सञ्चालकमा चौधरी ग्रुप परिवारका सदस्यहरू थियए। २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरको शेयर सदस्यमा विनोदकुमार चौधरी, अरूणकुमार चौधरी, लुनकरणदास चौधरी, वसन्तकुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी भएको देखिन्छ।