बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा कुनै अमेरिकी नागरिक बसोबास गरिरहेको भए तत्काल सो मुलुक छाड्न आह्वान गरेका छन् । रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा आफ्नो सैन्य कारबाही जारी राखेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोले युक्रेन कब्जा गरेमा त्यहाँ रहेका अमेरिकीलाई बचाउन अमेरिकाले सेना नपठाउने स्पष्ट पारेका हुन् । बीबीसीका अनुसार उनले युक्रेनको अवस्था चाँडै खतरनाक बन्नसक्ने भन्दै अमेरिकी नागरिकहरूलाई तत्काल उक्त देश छाड्न आह्वान गरेका हुन् ।

इस्टोनिया, लाट्भिया र लिथुआनियाका नेताहरूले पूर्वी युरोपमा सैन्य सहयोग बढाउन आफ्ना नेटो साझेदारलाईआह्वान गरे लगत्तै बाइडनको उक्त भनाइ आएको हो। मस्कोले युक्रेनलाई कब्जा गर्ने योजनालाई अस्वीकार गरेको छ । पश्चिमा देशहरूलाई युद्ध उन्माद फैलाएको आरोप समेत रुसको छ । तर, यसअघिका सूचना स्रोत मिलेका कारण बाइडनको यो चेतावनीलाई गम्भीरताका साथ लिइएको छ ।