काठमाडौं । बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । बिहीबार दुई जना मन्त्रीले नियुक्ति लिएका हुन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गर्दै मन्त्रीपरिषद् बिस्तार गरेका छन् । कात्तिक ११ मा मुख्यमन्त्रीको शपथ लिएका उनले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । बिहीवार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामा प्रदेशमा मन्त्री बनेका हुन् ।
जम्मकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुवै मन्त्रीलाई बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गरेका थिए ।