बागलुङमा बाढी, कम्तिमा १२ जना वेपत्ता

file

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ मा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । यहाँ गतराती गएको बाढी र पहिरोले दर्जनौं घर बगाएको छ । जसमा कम्तिमा १२ जना बेपत्ता भएको स्थानीय प्रशासनले जानकारस् गराएको छ । यस स्थानमा सुकुर्दुङ खोलाले वितण्डा मच्चाएको हो । बाढीले कम्तिमा १० घर बगेका छन् ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीय प्रहरीले जनाएको छ । बाढीले घर बगाउँदा कम्तिमा १२ जना सम्पर्क विहीन रहेको र थप क्षति भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बुर्तिवाङले उल्लेख गरेको छ । रातिको समयमा भएको क्षतिका कारण यकिन विवरण संकलनको काम भइरहेको प्रहरीको भनाई छ ।

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले पुष्टी गरेको छ । अहिले उद्धारको काम जारी रहेको छ । घटनास्थलमा प्रहरी, सेना तथा स्थानीय बासी उद्धारमा खटिएका छन् । ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो खसेपछि आएको बाढीले ठूलो मानवीय क्षति गरेको हो ।

प्रहरीका अनुसार लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन छन् । लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेको प्रहरीले जानकारी दिएको छ ।