बागलुङ । गत बुधबार राती बाढी र पहिरोमा परी हराइरहेका बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङका २३ जना अझै फेला पर्न सकेका छैनन्। हराइरहेका मध्ये शनिबार एक जनाको शव फेला परेको छ ।
यससँगै यस विपत्तिमा परी ज्यान गुमाउनेको संख्या कुल १५ पुगेको छ । तर, अझै २३ जना वेपत्ता छन् । बिहीबार र शुक्रबारको खोजीमा १४ जनाको शव फेला परेको थियो । प्रहरीका अनुसार शनिबार पनि बिहानैबाट खोजी थालिएको थियो ।
रातिको बाढी र पहिरोले बाग्लुङको ढोरपाटन नगरपालिका ९ बोबाङमा ठूलो मानवीय क्षति भएको थियो । हराइरहेका मानिसमा १५ दिने शिशुदेखि वृद्धसमेत रहेको प्रहरीले जनाएको छ । मृत्यु भएका १४ मध्ये १३ जनाको भने शव समेत सनाखत भइसकेको छ । यो प्राकृतिक विपतले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ ।