बागलुङ । बुधबार राति आएको बाढी र पहिरोमा परी हराइरहेका बागलुङ, ढोरपाटन नगरपालिका–९ बोबाङका स्थानीयको खोजी आज पनि शुरु भएको छ । यस घटनामा १४ जनाको शव फेला परिसकेको छ । अझै २४ जना वेपत्ता छन् । त्यसमध्ये चार जनाको शव सनाखत भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विकको सनाखत भएको छ । शव भेटिए पनि १० जनाको सनाखत हुन सकेको छैन । बाढीले बगाएको शव क्षतविक्षत अवस्थामा भेटिएका कारण पहिचानमा समस्या आएको हो ।
उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम समेत शुक्रबार हुने भएको छ । वेपत्ता भएकाको खोजीमा सेना, प्रहरी र स्थानीय बिहानैबाट जुटेका छन् ।
बगाएकाहरुको शव अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म पुगेको अवस्थामा फेला परेको छ । पहिरोले फलेघर र सुपुर्दुङमा एक दजर्न बढी घर बगाएको । वडा नं ८ सम्म कुल ४० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् ।