बाग्लुङमा तिहारमा देउसी भैलो खेल्न नपाइने

बाग्लुङ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच बाग्लुङमा तिहारमा देउसी भैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाग्लुङले १२ बुँदे निर्देशन जारी गर्दै यस्तो जानकारी गराएको हो । जिल्लामा सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा लकडाउन गर्ने, तिहारका अवसरमा खेलिने देउसी भैलोमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

साथै यो जिल्लामा अघोषित लकडाउन समेत भएको छ । अब अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन प्रशासनले आह्वान गरेको छ । कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक हप्ताका लागि बन्द गरिएको छ । देउसी भैलो खेल्दा भीडभाड हुने भन्दै जिल्लाभर नै देउसी भैलो भने खेल्न पाइने छैन ।

बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था समेत एक हप्ता बन्द भएका छन् । बाग्लुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घको आग्रहमा बागलुङ बजार क्षेत्रमा लकडाउन र अन्य ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताइएको छ ।