काठमाडौं । नेपालमा पछिल्लो ६ दिनको अवधिमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण १५ जनाको ज्यान गएको छ । मुलुकका विभिन्न जिल्लामा भदौ १० यता मात्र यस्तो मानवीय क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० पछि बाढीपहिराका कारण १५ जनाको मृत्यु भएको विवरण आएको छ । राससले लेखेको विवरण अनुसार यस अवधिमा तीन जना बेपत्ता छन् । १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलन गर्ने काम जारी छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास समेत जारी छ ।
प्राधिकरणका अनुसार जानकारीअनुसार गएको जेठ ३१ पछि हालसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् । १०९ जना घाइते भएका छन् । मनसुनजन्य विपद्मा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेवल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको विवरण रहेको छ । पछिल्लो चार दिनमा मात्रै झण्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । झण्डै पाँच हजार घर डुबानमा परेका छन् ।