– तीर्थराज अधिकारी
केही देख्दैनन्
आँखा नभएका – बादशाह !
केही सुन्दैनन्
कान नभएका – बादशाह !
जिऊ छाम्दैनन्
हात नभएका – बादशाह !
केही गुन्दैनन्
मन मस्तिष्क नभएका – बादशाह !
स्वयम् पाऊ चाल्दैनन्
पानी गलेका – बादशाह !
***
काम एउटै मात्र हुन्छ
‘ध्यान केवल ध्यान’
चाटुकारहरूका – जय जयमा !
चाप्लुसहरूका – ज्यू हजुरमा !
दासहरूका – स्वस्ति र सलाममा !
भरियाहरूका – डोली र चमरमा !
***
पर्खालभित्र होस् वा पर्खालबाहिर
कान फुक्नेहरूकै घेरामा
व्यस्त व्यस्त हुन्छन् – बादशाह !
आफ्नै रूप कस्तो छ ?
अलिकति समय निकालेर
कतै एकान्तमा
ऐना हेर्ने फुर्सदमा
कहाॅं हुन्छन् र बादशाह ?
***
आँखा हुनेहरूले
निर्वस्त्र नै देखे पनि
मुख हुनेहरूले
निर्वस्त्र नै भने पनि
लाज हुनेहरूले
आँखा र मुख नै थुने पनि
लज्जा त्यागेर
सहर र सडकमै
घुम्न रुचाउॅंछन् – बादशाह !
‘काग कराइरहन्छ
पिना सुकिरहन्छ’
आफूलाई वस्त्रविहीन मान्न
त्यसै कहाॅं तयार हुन्छन् र बादशाह !?
गोरखा, लप्सीबोट
हाल: सरस्वतीनगर, काठमाडौं