गोरखा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्रले जित निकालेको छ । जनता समाजवादी, एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीले मेयर र उपमेयर दुबैमा जित निकालेको हो । मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए ।
निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भए । उनले ४९९७ मत पाए । एमालेका हरि भट्टले ९४१ मत ल्याए । उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भइन् । उनले ५५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाइन् । गठबन्धनबाट एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मत ल्याएकी छिन् ।