बाबुराम भट्टराईको घोषणा : आगामी चुनावमा उम्मेदबार बन्दिन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले सोमबार यस्तो घोषणा गरेका हुन् । उनले २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराउने गोर्खाका मतदातालाई धन्यवाद भनेका छन् । आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधार बनेको उनले जनाएका छन् केही शुरूभएका आयोजना पूरा हुन बॉकी रहेको भन्दै बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने घोषणा समेत उनले गरेका छन् । २०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखेको स्मरण गराउँदै उनले यसले धेरै सिकाएको समेत बताएका छन् । आगामी दिनमा पनि म निरन्तर सेवामा रहने समेत उनको भनाई छ । चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन भन्दै उनले सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा नहुने समेत बताए । उनले भनेका छन्, ‘सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता÷समाजको सेवा गर्ने साधन हो, म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’