काठमाडौं । बालुवा झिक्न बनाएको खाल्डोमा परी बालक ज्यान गएको विषयलाई लिएर भएको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिकामा राजमार्गमा प्रदर्शन गरिरहेका स्थानीय माथि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागि सत्यनारायण महतोको मृत्यु भएको छ ।
खोलामा बालुवा झिकेपछि बनेको खाल्डोमा डुबेर स्थानीय बालकको मृत्यु भएपछि स्थानीय वासिन्दा शवसहित प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनले राजमार्ग अवरुद्ध भएपछि खुलाउन प्रहरी परिचालन भएको थियो ।
राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीबाट आक्रमण भएपछि गोली चलाउनु परेको सर्लाहीका प्रहरीले बताएको छ ।
शुरुमा राजमार्ग अवरुद्ध नगर्न आग्रह गरिएको तर नमानेपछि अश्रुग्यास, हवाई फायरजस्ता उपाय अपनाउँदा समेत भीड थाम्न नसकेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको बताएको छ ।
प्रदर्शनकारीले आक्रमण गरेपछि करीव एक दर्जन प्रहरी घाइते भएको समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीको गोली लागि असार महिनामा मात्र दुई जनाको ज्यान गइसकेको छ ।