काठमाडौं । काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले पेटमा घोपेर एक जनाको हत्या भएको छ । बाईपासस्थित सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका कलाम मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट पक्राउ गरेको छ ।
शर्माले पेटमा कैंचीले घोपेर घाइते बनाएका मियाँलाई उपचारका लागि त्रिवी शिक्षण अस्पतालमा लगिएको थियो। उनको अस्पतालमै निधन भएको हो । मियाँ बुवाको कपडा सिलाई कारखानामा काम गर्दै आएका थिए। पहिले देखि नै दुई जनाबीच खटपट रहेको र सोहीकारण भएको विवादले घटना भएको शर्माले स्वीकार गरेका छन् । मृतक मियाँले रडले हिर्काउन खोजेपछि आफूले प्रतिकार गरेको सुवोधको बयान छ ।