काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निजी क्षेत्रमा पनि निःशुल्क सार्वजनिक शौचालय उपलब्ध गराउने अभियानले सार्थकता पाउँदै गएको छ ।
जेठ १६ गते पदभार सम्हालेसँगै निजी क्षेत्रसँग सहकार्य गर्दै सार्वजनिक शौचालय संचालन गर्ने निर्णय गरेका थिए । त्यसपछि विभिन्न कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाहरुले पनि धमाधम आफ्नो शौचालय निःशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेका छन् ।
यसैबीच, नबिल बैंकले काठमाडौंको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो ।
केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, क्षेत्रपाटी मार्ग, चावहिल, जोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंकमा सर्वसाधारणले निःशुल्क शौचालय गर्न पाउनेछन्।
शौचालयको मर्मत सम्भार, सरसफाइ, पानीको व्यवस्था बैंकले नै गर्नेछ ।