बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने, महासंघ सदस्य बन्ने

काठमाडौं । बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने भएको छ । बिमस्टेक विजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् प्रतिनिधि र बिमस्टेक महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले सो निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने भएको छ । आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले खुसी व्यक्त गरे ।

उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गरे । बिमस्टेक राष्ट्र चेम्बरका प्रतिनिधिहरूको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियो । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ ।

बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रम अनुसार हुनेछ । सो बैठकमा अध्यक्ष ढकाल सहित महासंघका पूर्वअध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी थिए ।