बीपीको मेलमिलाप र राष्ट्रिय संकट

बीके नेवा, न्युयोर्क

पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइरालालाई विर्सेको छ । बीपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ तर काँग्रेस बीपीको बाटोमा हिँडेन । जसले गर्दा आज मुलुक अप्ठेरो अवस्थामा छ । राजाविनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजाले मुलुक चलाउन नसक्ने बीपीको विचार थियो । राजा र दलहरु मिलेर शासन गरे मात्र नेपाल सुरक्षित हुने र विदेशीले आँखा लगाउन नसक्ने बीपीको धारणालाई बीपीकै भाइ गिरिजाप्रसाद कोइरालाले लत्ताए । राष्ट्रपति हुने लोभमा गिरिजाले कम्युनिस्टहरुसँग मिलेर राजतन्त्र फाले र गणतन्त्र ल्याए । तर उनी राष्ट्रपति हुन पाएनन् । गिरिजाको कदमले मुलुक अस्थिरतातर्फ गएको छ । मुलुक वास्तविक संकटमा फसेको छ ।
इतिहास हेर्दा के देखिन्छ भने सन् १९७० को दशकमा भियतनामबाट अमेरिकी सेना फिर्ता भएपछि एसियामा शीतयुद्धको केन्द्र दक्षिणपूर्वी एसियाबाट दक्षिण एसिया बन्न पुगेको थियो । भारतमा सिक्किमको विलय भयो भने पाकिस्तानबाट बंगलादेश टुक्रिएर नयाँ राष्ट बन्यो । बीपीले यही परिप्रेक्षमा नेपालमा राष्ट्रियताको संकट देखेका थिए ।
आठ वर्ष लामो काराबासबाट मुक्तिपश्चात् बीपी कोइराला भारत निर्वासनमा गए ।
तर मुलुक कमजोर भएको विश्लेषण गरी बीपी २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्के ।

बीपीले प्रजातन्त्र, राष्ट्रियता र समाजवाद अर्थात् आर्थिक विकासलाई ‘तीनपाटे सिसा’ मानेका थिए र तत्कालीन कार्यक्रमलाई, ज्यामितीय रूपमा भन्नुपर्दा, ‘त्रिकोणात्मक संघर्ष’ का रूपमा लिएका थिए ।
बीपीले भनेका थिए— बेलायतमा राजनीति गर्नेले चुनाव हार्ने जोखिम लिनुपर्छ । भारतमा लागेको संकटकालतर्फ इंगित गर्दै उनले भनेका थिए— भारतमा राजनीति गर्नेले जेलको जोखिम लिनुपर्छ । र, नेपालमा रहेको तानाशाहीतर्फ संकेत गर्दै उनले भनेका थिए— नेपालमा राजनीति गर्नेले ज्यानको जोखिम लिनुपर्छ र त्यो उनलाई बिनासर्त मन्जुर थियो । सात सालको क्रान्तिमा विराटनगरको मोर्चामा अग्रभागमा लडेका बीपीका लागि आफ्नो जीवन दाउमा लगाउनु असामान्य थिएन । उनले सहजतापूर्वक आँट गरेर नेपालमा आफूविरुद्ध राजद्रोहका सातवटा मुद्दाको सामना गर्न तयार हुँदै नेपाल फर्कने निर्णय गरेका थिए 
ग्रिक दार्शनिक सुकरातलाई राजद्रोहको अभियोग लाग्यो । उनले सफाइको मौका त पाए तर तत्कालीन कानुनअनुसार दण्डित हुनबाट जोगिन सकेनन् । शुभचिन्तकहरूले उनलाई एथेन्स राज्यबाट भाग्ने सल्लाहसमेत दिए । भागेमा ज्यान बच्न सक्थ्यो तर सुकरातले जुन राज्यले उनलाई त्यति ठूलो मान र सम्मान दियो, जुन राज्यको कानुन अन्तर्गत उनले प्रतिष्ठा कमाए, त्यही राज्यले उनलाई अभियुक्त घोषणा गर्दा सहर्ष त्यो अभियोगउपरको कानुनी फैसलालाई शिरोपर गरे । त्यसैले आज पनि सुकरातको बलिदानको दुनियाँभर चर्चा भइराख्छ । सुकरात भागेका भए केही वर्ष बढी अवश्य बाँच्ने थिए होलान् तर राज्यप्रतिको उनको विश्वास सम्झनायोग्य रहने थिएन ।
नेपालको राष्ट्रियता संकटमा पर्दा बीपी निर्वासनमा थिए, उनको भौतिक शरीर सुरक्षित थियो, तर उनलाई त्यो असहज परिस्थिति स्वीकार थिएन । उनले आफ्ना साथीहरूसँग सल्लाह गरे र तत्काल दुस्साहसी निर्णय गर्दै नेपाल फर्किए । फाँसीमा चढ्नु नपरे पनि बीपीको नेपाल आगमन नेपाली इतिहासको ‘सुकरात क्षण’ अवश्य हो । राजाको फाँसीमा चढ्न आएका बीपीले उल्टो राजसंस्थाबाट सफाइ पाएका थिए ।
बीपीको निर्वासनसँगै नेपालमा पनि जनताको पक्ष, प्रजातन्त्रको पक्ष निर्वासनमा पुगेको थियो । राजनीतिक दलहरू प्रतिबन्धित भइसकेपछि दुइतिहाइ मतप्राप्त राजनीतिक दलका कार्यकर्ताहरू निर्वासनमा जान बाध्य भएका थिए । जब राष्ट्रको जीवनमा अस्तित्वको खतरा आयो, त्यति बेला प्रजातन्त्रको लडाइँ गौण हो भनेर बीपीले नेपाल फर्कने निर्णय गरेका थिए । लगत्तै नेपाल आएका बीपीलाई हवाई अड्डाबाटै गिरफ्तार गरेर सुन्दरीजलको कारागारमा लगियो, जहाँबाट आठ वर्षअगाडि रिहा गरिएको थियो ।
उनले राजसंस्थासँग समर्पण गर्ने कुरा गरेका छैनन् । उनले प्रस्ट भनेका थिए, ‘मैले प्रजातान्त्रिक राजा मान्दछु अर्थात् कानुन अधीनस्थ राजा मान्दछु । कानुनभन्दा माथि रहने राजा मलाई स्वीकार छैन ।’
सात सालको क्रान्तिका क्रममा नेपालमा दुई राजा रहेको उदाहरण दिँदै उनले भनेका थिए, राजा त्रिभुवनसँग केही पनि थिएन, उनी निर्वासनमा थिए तर उनीसँग जनताको समर्थन थियो, त्यसैले भगुवा राजाको महत्व भयो ।
बीपीले राजासँग आफ्नो घाँटी जोडिएको छ भनेको सन्दर्भको ज्यादा चर्चा पनि भयो तर उनले घाँटी जोड्न चाहेको राजा संवैधानिक थियो । राजालाई देखाएर राज्यशक्तिको दोहन गर्दै विदेशी शक्तिको इसारामा चल्नेहरूले बीपीले बिनासर्त राजा मान्छन् भनेर गलत व्याख्या गरे ।
बीपीको स्वमूल्यांकनमा राष्ट्रिय मेलमिलापका पाँच वर्ष अर्ध–सफलताका वर्षहरू थिए । दरबार अझै त्यो स्वार्थी तत्वको घेराबाट मुक्त भएको थिएन तर जनताले बीपीले संकेत गरेको राजनीतिक पाठ हृदयंगम गर्न थालिसकेका थिए । जनमतसंग्रहले जनअधिकारका लागि बाटो प्रशस्त गरेको थियो तर त्यसको परिणामपश्चात् संविधान संशोधनका नाममा थप कडाइका साथ जनअधिकार निमोठ्ने कोसिस गरियो । नेपाललाई अन्तर्राष्ट्रिय गोटी बनाउन उद्यत तत्व बीपीको नेपाल आगमनसँगै प्रजातन्त्र र जनअधिकारको लडाइँमा छायामा पर्न पुग्यो र नेपाली राष्ट्रियतामा आँच आउन पाएन । राष्ट्रिय राजनीतिको संकथन नै बदलियो । राजाको आड लागेर विदेशीको सेवा गर्ने त्यो जनविरोधी तत्व बिस्तारै निस्तेज भएर गयो ।
राष्ट्रिय मेलमिलापको अपिल अझै पनि राष्ट्रवादी तत्वहरूलाई गोलबद्ध गराएर देशलाई विकास र समृद्धिको युगमा पु¥याउने सन्देश जनजनमा पुर्याउन सफल छ । भावनात्मकभन्दा व्यावहारिक एकता वा एकीकरण, संविधान संशोधन र समुन्नत नेपाल चाहने जोकोहीका लागि राष्ट्रिय मेलमिलाप एउटा प्रस्थानविन्दु बन्न पुगेको छ ।
बीपीले राजासहितको प्रजातन्त्रलेमात्र नेपाल सुरक्षित हुन्छ भन्ने निष्कर्ष निकालेका थिए । उनको यो निष्कर्ष आज सही सावित हुँदैछ । राजा फालेर गणतन्त्र ल्याउँदा नेपाल सुरक्षित भएन । आज नेपालको राष्ट्रियता खतरामा परेको छ । चारैतिरबाट विदेशीले आँखा लगाएका छन् । राष्टको गोपनीयता भंग भएको छ । नेपालीहरु असुरक्षित छन् । मुलुकको बागडोर सम्हालेका दलहरु र तिनका नेताहरुलाई मुलुकप्रति कुनै चिन्ता छैन । जसरी पनि मुलुक लुट्ने र आफै मोज गर्ने धुनमा लागेका अराजक नेताहरुका कारण नेपाली पूर्णरुपले असुरक्षित भएका छन् । स्वदेशमा उद्योगधन्दा मौलाएनन् । काम नपाएर ४० लाखभन्दा बढी नेपाली खाडी क्षेत्रमा गएर रगत पसिना बगाएका छन् । स्वदेशमा रोजगारीको अवसर छैन । बेरोजगारी समस्या बढेको छ । अर्थ व्यवस्था तहस नहस बनेको छ । मुलुक चलाउनसक्ने सक्षम नेता छैन । पटक पटक मुलुक चलाउन असफल शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बनाइदिएको छ । पाँच दलीय गठबन्धन भागशान्ति जय नेपालमा लागेको छ । महंगी आकासिएको छ । जनताले राहत पाउन सकेका छैनन् । अभिभावकविहीन अवस्थामा पुगेका नेपालीले भरपर्दो अभिभावक खोजेको छन् ।
बीपीको मेलमिलाप नीतिलाई काँग्रेसले धोती लगाइदिँदा मुलुक यो दुर्गतिमा पुगेको हो । त्यसैले अब बीपीको नीति अनुसार राजसंस्था पुनस्र्थापना गरी मुलुक बचाउनुपर्छ नत्र नेपाल कुनै पनि बेला दुर्घटनामा पर्नसक्छ ।