काठमाडौं । बुटवल–गोरुसिङ्गे सडक अब ६ लेनको बन्ने भएको छ । विश्व बैंकको सहयोगमा सरकारले यो सडक खण्ड बिस्तारको काम हुन लागेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यो आयोजनाको शिलान्यास गरे । प्रधानमन्त्री ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको दावि गरे । बुटवल–गोरुसिङ्गे सडक खण्ड विस्तारको काम आगामी तीन वर्षभित्र गरिसक्ने उनको दावि छ । महेन्द्र राजमार्गलाई ६ लेनमा बिस्तार गर्न विभिन्न खण्डमा काम भइरहेको छ ।
उच्च संकल्प र आँटका साथ देशको विकास नेपाली आफैंले गर्नुपर्ने उनको भनाई छ । विकास निर्माणमा विदेशी सहयोगी हात आवश्यक पर्ने उनले बताए । पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे सडकखण्ड ५० किलोमिटर लम्बाईको छ । बुटवल–नारायणगढ सडक खण्डमा जस्तो सवारीसाधन र यात्रुहरूलाई सास्ती नहोस् भनेर बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा अहिलेको पिच नभत्काई सुरुमा दायाँ–बायाँतर्फको लेन बनाइसकेर मात्र बीच भागको सडक भत्काइने समेत आयोजनाले जनाएको छ ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत १३ असारमा ठेक्का पाएका हुन् । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ । आयोजनाका अनुसार सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर (६ लेन) , सहरोन्मुख क्षेत्रमा ३७ दशमलव ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा (चार लेन) कायम हुनेछ ।
आयोजनाका अनुसार ५० किलोमिटर सडक खण्ड दुई चरणमा २५–२५ किलोमिटरमा विभाजन गरी विस्तार गर्न लागिएको छ । पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछ भने १४९ वटा कल्भर्ट पनि निर्माण हुनेछ ।