बुटवल र चितवनमा बिहीबार कोरोना भाइरसको संक्रमणबाट एक\एक जनाको निधन भएको छ । बुटवलमा प्युठानका कोरोना संक्रमित पुरुषको ज्यान गएको हो । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको छ ।
उनी कलेजो र फोक्सोमा निमोनियाको समस्याबाट ग्रसित रहेको बताइएको छ । उनी १० भदौमा मुटु अस्पतालमा भर्ना भएका थिए । मुटु अस्पतालमा अर्का एकजना कोरोना संक्रमितको समेत उपचार जारी रहेको छ ।
उता, चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा निधन भएको हो । उनी झाडापखाला, खोकी र कम सोडियमको समस्याले पिडित थिइन् । यससँगै चितवनमा मात्र कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ ।