बुद्ध शिक्षाको प्रवद्धर्नका लागि हिमालय मैत्री फाउण्डेसन नेपालको स्थापना


काठमाडौँ, भाद्र १२ ।बौद्ध ६ तीनचुली स्थित भुवालडाँडामा हिमालय मैत्री फाउण्डेसन नेपालको उद्घाटन भएको छ ।शुक्रबार एक कार्यक्रम बिच फाउण्डेसनका संस्थापक संरक्षक खेन रिम्पोछे फुर्वा दोर्जेले फाउण्डेसनको उद्घाटन गरेका हुन् ।

फाउण्डेसनको उद्घाटन कार्यक्रम अघि फाउण्डेसनको कार्यालयमा लामा गुरु उर्गेन लामाको नेतृत्वमा हरित तारा पुजा (ढोल्छ्योक) भएको थियो । ९ जनाको कार्यसमिति रहेको फाउण्डेसनको उपाध्यक्ष छिरिङ गुरुङ, सचिव आचार्य बुद्ध लामा र कोषाध्यक्ष समाजसेवी याङ योञ्जन रहेका छन् ।

फाउण्डेसनका अध्यक्ष आचार्य थुप्तेन (अशोक लामा)ले बुद्ध शिक्षाको प्रवद्धर्नका साथै धर्म संस्कृतिको संरक्षणका लागि फाउण्डेसनले कार्य गर्ने बताए। साथै उनले फाउण्डेसनको प्रशिक्षण कक्षमा बौद्ध शिक्षाको ज्ञान, ध्यान कक्षा, सम्भोटालिपी कक्षा सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेसनका संस्थापक संरक्षक खेन रिम्पोछे फुर्वा दोर्जेले नेपालमा बौद्ध धर्म संस्कृतिको विकास र संरक्षणमा फाउण्डेसनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै सामाजिक परिवर्तन, सामाजिक विकास र चारित्रिक विकासका लागि समेत कार्य गर्ने बताए।उनले बौद्ध शिक्षाको विकासका लागि समेत समुदाय सचेत भएर कार्य गर्नुपर्ने बताए।