बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव

काठमाडौं । बुधबार नेपालको राजनीतिमा अर्थपूर्ण दुई भेट भएका छन् । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा उनको कोटेश्वरस्थित निवासमा पुगेका छन् । सामान्यतया प्रधानमन्त्रीसँग अन्य नेताको भेट सरकारी निवास, प्रधानमन्त्री कार्यालय वा प्रधानमन्त्रीको निजी निवासमा हुने गर्छ ।

अझ केपी शर्मा ओलीको कार्यकालको लामो समय त ओली बालुवाटारबाट कतै निस्किएका थिएनन् । तर, आफ्नो सरकार बनाउन निर्णायक भूमिका खेलेका माधव कुमार नेपाललाई भने देउवाले उनकै निवासमा पुगी भेट गरेका छन् । नेपालको निम्तोमा प्रधानमन्त्री देउवा नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित नेपाल निवास पुगेका हुन् ।


उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको छ । भेटमा सरकार सञ्चालन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । अब देउवाको ध्यान एक महिना भित्र संसदबाट विश्वासको मत लिनुमा हुनेछ । त्यसका लागि पुनः उनलाई एमाले नेता माधव कुमार नेपाल र उनको समूहको साथ चाहिन्छ । यता नेपाल नेपालको गतिविधिलाई भने एमाले अध्यक्ष ओलीले अस्वभाविक भन्दै अब एमालेमा ढोका बन्द हुने चेतावनी दिएका छन् ।


उता, आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । २१ फागुन २०७७ मा सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव पार्टी नेता धर्मेन्द्र बास्तोलासँगै प्रचण्ड निवास खुमलटार पुगेका हुन् । प्रचण्डसँग छुट्टिएर नयाँ पार्टी बनाई भूमिगत जिवन बिताएका विप्लवले २०७१ सालपछि पहिलो पटक आफ्ना पूर्वसुप्रिमोसँग भेटेका हुन् ।

अहिले विप्लव समेत शान्तिपूर्ण राजनीतिमा फर्किएका छन् । दुई नेताबीचको भेटमा विप्लवले एमाले अध्यक्ष ओलीको समयमा विप्लवसँग भएका सहमतिको कार्यान्वयनबारे चासो राखेका थिए । त्यो सम्झौता ओली व्यक्तिसँग नभई सरकारसँग भएको भन्दै कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने भनाई उनले प्रचण्डसँग राखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि अहिले परिस्थिति फेरिएको छ । तर, राजनीतिको मियो भने प्रचण्ड छन् । सोहीकारण आज उनीसँगको विप्लवको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।