काठमाडौं । नेपालमा बुधबारबाट कम्तीमा तीन दिन ठूलो वर्षा हुने भएको छ । देशका विभिन्न स्थानमा हुने वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिप्रति सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी वर्षा जारी छ । बुधबार बिहान काठमाडौं उपत्यकासहित देशका धरै स्थानमा पानी परिरहेको छ प्रदेश १ मा समेत ठूलो वर्षा जारी छ ।
आगामी तीन दिन देशभर मनसुन सक्रिय रहने छ । यसले धेरैजसो स्थानमा पानी पार्नेछ । जल तथा मौसम विज्ञान विभागले समेत सचेत रहन भनेको छ । प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने छ ।
बुधबार राती प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
बिहीबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना रहेको सूचनामा उल्लेख छ ।