काठमाडौं । बुधबार राष्ट्रिय सभा निर्वाचन हुँदैछ । मतदान गर्न सातवटै प्रदेशका केन्द्रमा आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगले मतदान गर्न आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकिएको समेत आयोगले जानकारी गराएको छ । सातवटा प्रदेशमा दुई हजार २५ जना मतदाता छन् ।
चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । १९ पदका लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रिय सभा चुनावमा पनि गठबन्धन गरेका छन् । प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले सातै प्रदेशमा आफ्ना उम्मेदवार उठाएको छ । कोरोना संक्रमित मतदाताले समेत भोट हाल्न पाउने छन् ।