बुबा आमाकै योजनामा १७ वर्षिय छोरीको हत्या भएको खुलासा

रौतहट । रौतहटमा तीन साता अगाडी १७ वर्षीया अमृताकुमारी साहको आफ्नै घरमा गोली हानेर हत्या भयो । यो घटनाका छानविनबाट प्रहरीले एक डरलाग्दो तथ्य फेला पारेको छ । घटनामा बुबा आमा कै संलग्नता पुष्टी भएको हो । छोरीको हत्या गर्न बुबा आमाले नै रकम दिएर हत्यारा परिचालन गरेको खुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहाकी अमृताको २६ कात्तिकमा हत्या भएको हो । रातको साढे ११ बजे सुतिरहेको समयमा बेडमै पुगी उनीमाथि गोली हानिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यअनुार अमृताका बुवाआमाले नै छोरीमाथि गोली हान्न लगाएका थिए । प्रहरीले अमृताका बुवा ५५ वर्षीय रामअयोध्या साह र आमा सीतादेवी साहलाई समेत पक्राउ गरेको छ। अमृताका कारण आफुहरुको इज्यत जाने र समाजमा अपहेलित हुनुपर्ने डरले बुबा आमाकै योजनामा उनको हत्या भएको खुलेको हो ।

अमृताका कारण आफुहरुको इज्यत जाने र समाजमा अपहेलित हुनुपर्ने डरले बुबा आमाकै योजनामा उनको हत्या भएको खुलेको हो ।

प्रहरीका अनुसार अमृता सोही स्थानका ३० वर्षीय सोशिन्द्रप्रसाद भगतसँग तीन वर्षदेखिको प्रेम सम्बन्धमा रहेको पाइएको छ । तर, उनको परिवारको दबाबमा गत फागुनमा सर्लाही विष्णु गाउँपालिका ३का रुपेश साहसँग गरिएको थियो । त्यसपछि सोशिन्द्रप्रसादले रुपेशमाथि छुरा प्रहार गरेका थिए। श्रीमानमाथि प्रेमिले छुरा हानेपछि उनी माइतीमा बस्दै आएकी थिइन् ।

अमृता र रुपेशबीच बिबाहको चार महिना पछि नै सम्बन्धविच्छेद भइसकेको थियो । सम्बन्धबिच्छेद पछि रुपेशका परिवारले अमृतार उनका प्रेमी सोशिन्द्रप्रसाद भगतमाथि ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरेको प्रहरीले उल्लेख गरेको छ ।

यता, अमृता र सोशिन्द्रबिचको प्रेम सम्बन्ध अमृताका आमा बुवालाई मन नपरेपछि उनीहरुले छोरीलाई नै मारिदिने योजना बनाएको खुलेको हो । अमृताका बुबा रामअयोध्या साह र उनका भिनाजु लक्ष्मण साहले छोटेलाल साहलाई अमृताको हत्या गर्न एक लाख ५० हजार रुपैयाँ दिएको प्रहरीको भनाई छ ।


त्यसपछि उनीहरूले गोनाही नगरपालिका २ लक्ष्मिनीया कुरुनीयाका कैमुल देवानलाई छोरीको हत्या गर्न रकम दिएर हत्याको अनुमति दिएका थिए । अमृतामाथि गोली हान्ने देखि योजनाकारसमेत सबै पक्राउ परेका छन् ।

देवानसहित परोहा नगरपालिका ४का ४६ वर्षीय छोटेलाल साह, गोनाही नगरपालिका २ लक्ष्मिनिया करुनियाका ६० वर्षीय शेख अलियास, अन्दाजी ३५का बहुदल भन्ने ईस्लाम अंसारी र ३६ वर्षीय शेख इम्ताज समेत प्रहरीले पक्राउ गरी हिरासतमा लिइएको छ । उनीहरु सबैले अपराध स्वीकार गरिसकेका छन् ।