काठमाडौँ, भाद्र २४। बूढानीलकण्ठ नगरपालिका वडा ११ स्थित सूर्यमुखी महिला समूहकाे भवनमा “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” (मेडपा) अन्तर्गतकाे ४५ दिने एडभान्स सिलाई कटाई तालिम सुरू भएकाे छ ।“सीप सिकाै, सीपकाे सदुपयाेग गरी उद्यमी बनाै” नारका साथ उपप्रमुख रमा देवी राइद्वारा कपडा सिएर यस तालिम उट्घाटन गरिएकाे हो ।

बूढानीलकण्ठ नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गरि गरिबी निवारण गर्नका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ।यसका लागि नगरपालिकाले विभिन्न समयावधीमा सिपमुलक कार्यक्रमहरू संचालन गर्दै आएकाे छ । जस अन्तर्गत बुधबार एक कार्यक्रम बिच एडभान्स सिलाइ कटाइ तालिमको सुरु भएकाे हो ।

तालिमका लागि नगरपालिकाले रू. ३ लाख १५ हजारकाे लागत छुट्टाएकाे छ। सीप सिकाउनका लागि ७ वटा कपडा सिलाउने मेसिन, १ वटा इन्टरलक मेसिन, २ वटा आइरन, १३ प्रकारका कपडाहरू लगायतका सिकाईका लागि आवश्यक सरसामान खरिद गरिएकाे छ । उपलब्ध मेसिनहरू तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीहरूलाइ कुल रकमकाे ८० प्रतिशत छुटमा बिक्री गरिने जानकारी गराईएको छ ।
