लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनक ट्राफिक कारवाहीमा परेका छन् । कारको सिट बेल्ट नलगाएको भन्दै प्रहरीले उनलाई जरिबाना गराएको छ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिबानाको ससर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले लेखेको छ ।
प्रधानमन्त्री सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गरी माफी समेत मागेको समाचारमा उल्लेख छ । उनले जरिबाना तिर्ने बताएका छन् । सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा सय पाउन्ड जरिबाना तिराउने गरिन्छ । यदि मुद्दा अदालतमा पुग्यो भने यो जरिबाना ५ सय पाउन्डसम्म पुग्न सक्छ । सुनकले सरकारमा रहँदा निश्चित जरिबानाको सूचना पाएको यो दोस्रो पटक हो । यसअघि कोरोना रोकथामका लागि गरिएको लकडाउनका नियमहरू तोडेकोमा उनलाई जरिबाना गरिएको थियो ।