बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक

काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमन रोकेको छ । बुधबार राती १२ बजेबाट लागु हुने गरी नेपाल सरकारले बेलायतबाट कुनै पनि यात्रु आउन नपाउने गरी रोक लगाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको छ ।

बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिट गरी नेपालमा यात्रु ल्याउन पाउने छैनन् । यसबाट नेपालबाट बेलायत जाने यात्रु समेत प्रभावित बनेका छन् ।

बेलायतसहित यूरोपका कतिपय मुलुकमा अहिले कोरोना भाइरसको नयाँ रुप देखिएको छ । यसको नेपाल प्रवेश रोक्न सरकारले उडानमा प्रतिवन्ध लगाएको हो । प्रतिवन्ध अर्को सूचना जारी नभएसम्म जारी रहने भएको छ ।

यसले बेलायतबाट नेपाल आउने तयारीमा रहेका पर्यटक तथा नेपाली नागरिकको आगमन प्रभावित बनेको हो । बेलायत सरकारले कोरोना भाइरसको खोप वितरण गरिरहेको छ । तर, यहाँ प्रकृतिको भाइरस देखिएपछि चिकित्सकहरु चिन्तित बनेका छन् ।