बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउन लगाएको रोक खुला गरेको छ । अब पर्यटक तथा नेपाली यात्रु बेलायतबाट सिधा उडान वा ट्रान्जिटका माध्यमबाट नेपाल आउन सक्नेछन् । तर, नेपाल आइसकेपछि भने १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

नयाँ निर्णय अनुसार अब भाइरस नदेखिएको मुलुकबाट सिधै वा संक्रमण नभएको मुलुकमा ट्रान्जिट भई हवाई मार्गबाट नेपाल आउने यात्रु मात्र रहेको उडानबाट आएका यात्रुलाई अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा घर जान दिइनेछ । तर, कोरोनाको नयाँ भाइरसको संक्रमण भएका मुलुकबाट वा सो मुलुकमा ट्रान्जिट भई हवाईमार्गबाट आएका सबै यात्रुले भने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

यस्ता यात्रुको होटेलको खर्च यात्रु स्वयमले स्वयमःले बेहोर्नुपर्छ । यससँगै बेलायतमा लागेको यात्रा प्रतिवन्ध समेत फुकुवा भएको छ । होटेल क्वारेन्टिनमा बस्ने यात्रुले पाँच दिनपछि आफ्नै खर्चमा कोरोना परीक्षण गर्नुपर्ने नियम छ । त्यसपछि नेगेटिभ रिर्पोट आएमा थप ५ दिन होम क्वारेन्टिनमा बस्ने गरी गन्तब्यमा जान दिइने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

कोरोनाको नयाँ रुप देखिएको मुलुकबाट सिधै उडान वा ट्रान्जिट उडानबाट आउने यात्रुले नेपालमा होटेल बुक नगरेसम्म हवाई टिकट समेत काट्न नपाउने गरी नियम बनेको छ ।

हवाईमार्गबाट नेपाल आउने सबै यात्रुको साथमा यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टा भित्रको सम्बन्धित स्वीकृति प्राप्त प्रयोगशालामा कोभिड १९ परीक्षण गरेको नेगेटिभ रिर्पोट भने अनिवार्य साथमा बोक्नु पर्ने छ । सरकारले कोरोना खोपको मात्र पुरा गरेका यात्रुलाई भने निर्वाध गन्तब्यमा जान दिने निर्णय गरेको छ ।