बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पाए विश्वासको मत

लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो नेतृत्वविरुद्ध महत्त्वपूर्ण विद्रोह हुँदाहुँदै पनि विश्वासको मतमा टोरी सांसदहरूको बहुमत प्राप्त गरेका छन्। उनसट्ठी प्रतिशत मतले जितेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ। कुल २११ टोरी सांसदले जोनसनको नेतृत्वप्रति विश्वासको मत दिए भने १ सय ४८ जनाले उनको विपक्षमा मतदान गरेका थिए। जोनसनले विश्वास मत प्राप्त गरेको कुरालाई निर्णायक भनेका छन्।

उत्साहित स्वरमा उनले उक्त नतिजा धेरै राम्रो र विश्वस्त भएको बताए। यो नतिजासँगै उनको प्रधानमन्त्री पद जोगिएको छ। आलोचकहरूले भने उनी विरुद्धको विद्रोहको मात्राले जोनसनको अधिकार खुम्चिएको बताएका छन्। केहीले उनलाई राजीनामा दिन पनि आह्वान गरेका छन्। जोनसनले पार्टीभित्र पाएको समर्थनको मत पूर्वप्रधानमन्त्री टरिजा मे सन् २०१८ मा पार्टीका संसदहरूको विश्वासको मत जित्दा प्राप्त गरेको ६३ प्रतिशत मतभन्दा कम हो। त्यसबेला मेले ६ महिनापछि नै ब्रेक्जिट गतिरोधको कारण राजीनामा दिनुपरेको थियो।

लेबर पार्टीका नेता केयर स्टामरले विभाजित कन्जरभेटिभ पार्टीले विश्वासको मतमा जोनसनलाई बचाएर सम्हालिन खोजेको बताएका छन्। लिबरल डेमोक्र्याट नेता एड डेभीले जोनसन सत्तामा अडिग रहँदा उनको प्रतिष्ठा ध्वस्त भएको र उनको अख्तियार अब पूर्ण रूपमा बन्द भएको बताएका छन्। डाउनिङ स्ट्रीटले उक्त नतिजाले प्रधानमन्त्रीको जनादेशलाई नवीकरण गर्ने र सरकारलाई मतदाताले सरोकार राख्ने मुद्दामा निरन्तर ध्यान केन्द्रित गर्न अनुमति दिने बताएको छ।

जोनसन सन् २०१९ मा प्रधानमन्त्री बनेका थिए। कोरोनाभाइस लकडाउनको समयमा आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रीटमा पार्टी गरेको भन्ने विवरण सार्वजनिक हुँदा उत्पन्न आक्रोशपछि जोनसनबारे उनको संसदीय दलभित्र मतदान भएको हो। मे मा भएको स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीको कमजोर नतिजा पछि जोनसनको आलोचना बढेको थियो। कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत मनोरञ्जनका लागि जमघट भएको पाइएपछि जोनसनलाई ५० पाउण्ड जरिवाना गरिएको थियो।
बीबीसी