लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन्न भएको छ । बीबीसीका अनुसार उनको विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा अन्तिम संस्कार गरिएको हो । राजकुमार फिलिपको शवलाई त्यहाँस्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ।
राजपरिवारका सदस्यको उपस्थितिमा उनको अन्तिम संस्कारको कार्यक्रम सम्पन्न भएको हो । अन्तिम संस्कारको विधि गरिएको बेला सेन्ट जोर्जेज् च्यापलको क्वाईरको अग्रभागमा महारानी एलिजाबेथ एक्लै बसेकी थिइन्। राजकुमार फिलिपको गत शुक्रवार एप्रिल ९ का दिन ९९ वर्षको उमेरमा विन्ड्सर कासलमा निधन भएको हो ।

उनको शव प्राइभेट च्यापलबाट सेन्ट जोर्जेज् च्यापलसम्म लगिँदा राजपरिवारका प्रमुख सदस्यहरू शवपेटिका राखिएको ल्यान्ड रोभर कारको पछाडी हिँडेको बीबीसीले जनाएको छ । अन्तिम संस्कारका क्रममा बेलायतभर एक मिनेट मौनधारण गरिएको छ । राजकुमार फिलिपको निधन घोषणा भएयता महारानी एलिजाबेथ द्वितीया पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन् ।
