पोखरा । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले सोमबार बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेको राससले लेखेको छ । पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएका उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गरेको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए ।
उनका अनुसार पोलिटले सोमबार बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेकी हुन् । पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भनिन् , ‘सोमबारको बिहान निकै रमाइलो भयो । माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।’
कोभिड–१९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना सङ्क्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको सङ्ख्या बढ्ने विश्वाससमेत व्यक्त गरिन् । उनले भनिन्, ‘नेपाल भूबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।’
उनले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवर्द्धनको आवश्यक रहेको बताइन् । उनले पर्यटकलाई साइकल रुटका बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवद्र्धन हुँदै जाने विश्वास व्यक्त गरिन् । सो अवसरमा उनले नेपाल बिट्रिसको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताइन् । उनले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताइन् ।