बेलायत, अमेरिका र अस्ट्रेलियाले आफ्नो रक्षा प्रणाली सुदृढ गर्न हाइपरसोनिक अस्त्रको अनुसन्धान अघि बढाउन लागेको बताएका छन् । बेलायत सरकारलाई उदृत गर्दै बीबस्ीले लेखे अनुसार तीन देशले गत वर्ष घोषणा गरेको ओकस सुरक्षा साझेदारी अन्तर्गत यो योजना अघि सारिएको हो। चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको निर्माण गरेपछि पश्चिमा देशहरूको गठबन्धन पनि यो अस्त्र बनाउने तयारीमा जुटेका हुन् । रुसले गत महिना युक्रेन आक्रमणमा यस्तो अस्त्रको प्रयोग समेत गरेको थियो।
हाइपरसोनिक अस्त्रको गति आवाजको वेग भन्दा पाँच गुणा तीव्र हुन्छ। तीव्र गति र कम उचाइबाट उड्ने भएकाले जमिनका राडारबाट यस्ता हाइपरसोनिक क्षेप्यास्त्र पहिचान गर्न, रोक्न वा बीच उडानमै नष्ट गर्न समेत कठिन हुन्छ। अमेरिका र अस्ट्रेलियाले भने यस्तो हतियार निर्माणका लागि संयुक्त परियोजना सञ्चालन गरिरहेका छन्। यूकेले नयाँ सहकार्य रक्षा क्षेत्रमा केन्द्रित हुने जनाएको छ। यूकेले आफ्नै हाइपरसोनिक हतियार बनाउने योजना नरहे पनि नयाँ कार्यक्रमले आफूलाई यस्तो हतियार बनाउन आवश्यक परेको अवस्थामा पहुँच स्थापित गर्न सहयोग पुग्ने जनाएको छ।
युक्रेनमा यस्तो अस्त्र प्रयोग गर्ने रुसको कदमबाट पछिल्लो घोषणा नजोडिएको प्रस्ट्याउँदै यूकेले अरू देशहरूले यस्तो हतियारमा लगानी गरिरहेका कारण त्यसको प्रतिरक्षाका लागि आफ्नो देशले पनि सोच्ने समय आएको बताएको छ। रुसले मार्च १९ मा युक्रेनको एउटा हतियार भण्डार नष्ट गर्न हाइपरसोनिक क्षेप्यास्त्रको प्रयोग गरेको दाबी गरिएको थियो। अमेरिकी सैन्य गुप्तचर निकायले रुसी फौजहरूले त्यसयता निरन्तर यस्तो हतियार प्रयोग गरेको दाबी गरेको छ।
यो आक्रमणलाई सैन्य कारबाहीमा पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको घटनाको रूपमा हेरिएको छ। यो घटनाको केही महिनाअघि चीनले दुई वटा आणविक हतियारयुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी गुप्तचरहरूले बताएका थिए। दुवै क्षेप्यास्त्रले जमिनको सतहभन्दा कम उचाइबाट पृथ्वीलाई फन्को मारेका थिए। दोस्रो क्षेप्यास्त्र निर्धारित लक्ष्यमा नपुगे पनि करिब ४० किलोमिटर नजिकसम्म पुगेको थियो।