काठमाडौं । पोल्याण्डको बेलारुससँगको सीमानामा हजारुौं आप्रवासी आएर रोकिएका छन् । उनीहरु पोल्याण्ड प्रवेश गर्न चाहन्छन् । यी आप्रवासीलाई त्यहाँसम्म ल्याउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको पोल्याण्डका प्रधानमन्त्री माटयुस मोराभियस्कीले आरोप लगाएका छन् । बीबीसीका अनुसार बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्का रुस निकट रहेको र पुटिनकै योजनामा बेलारुसले यस्तो संकट उत्पन्न गराएको उनको आरोप छ ।
ब्रशेल्स र वार्साले युरोपेली सङ्घले बेलारुसमाथि प्रतिबन्धहरू लगाएपछि मिन्स्कले गैरकानुनी आप्रवासीहरूलाई हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएका हुन् । बेलारुसी नेता एलेक्जेन्डर लुकासेन्काले युरोपेली सङ्घको प्रतिबन्धको बदलामा मानिसहरू सीमातर्फ पठाएको आरोपको भने खण्डन गरेका छन् । बेलारुसका नेताले अवस्था बिग्रिएमा आफूले रुसको सहायता लिने समेत बताएका छन् ।
मङ्गलवार पोलिस प्रधानमन्त्री मोराभियस्कीले सीमामा फौजहरूलाई भेटेपछि संसद्को एउटा आपत्कालीन सत्रमा बोल्दै यस्तो बताएका हुन् । भिडिओ फुटेजहरूमा काँडेतारले छुट्याइएको पोल्याण्डसँगको सीमामा बेलारुसतर्फ मानिसहरूको भिड देखिन्छ । निकै चिसो मौसमकाबीच यतिखेर कम्तीमा २ हजार आप्रवासीहरू सीमामा रोकिएका छन्। ती आप्रवासी मध्यपूर्व, अफगानिस्तान र अफ्रिकाका रहेको बताइएको छ ।