बेल्जियम पठाउने प्रलोभनमा थाइल्याण्ड लगी मानव बेचबिखन

काठमाडौं । बेल्जियममा काममा पठाउने प्रलोभनमा एक महिलालाई बैंकक पु¥याई मानव बेचबिखन गरेको कसुरमा काठमाडौँबाट एक जना पक्राउ परेका छन् । प्रहरीले सिनामङ्गलबाट बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्कालाई पक्राउ गरेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार खड्काले पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभन देखाएका थिए ।

तर, उनलाई थाइल्याण्ड पुर्याई विभिन्न मितिमा आठ लाख ५४ हजारसमेत लिई दुई वर्षअघि बेचबिखन गरेको ब्यूरोले विज्ञप्ती मार्फत जनाएको छ । गिरोहले भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त परविन्दर सिंहसमेतले यौनशोषण गरी धम्की दिई मलेशिया लगी अलपत्र पारेको बताइएको छ । उनी आफन्तको सहयोगमा एक वर्षअघि नेपाल आउन सफल भएकी छन् ।

उनीहरुले महिलालाई कम्बोडियासमेत पुर्‍याएको फेला परेको छ। त्यसपछि उनको जाहेरीका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले फरार रहेका खड्कालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।