बैतडी । बैतडीमा भएको टिपर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडकमा सोमवार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटनामा परेको हो ।
सो क्रममा स्थानीय सिगास माध्यमिक विद्यालयका दुई विद्यार्थी र एक जना स्थानीयवासीको ज्यान गएको प्रहरीको भनाई छ । मृत्यु हुनेमा पाटन नगरपालिका–३, जडाकोटका १२ वर्षीया ज्ञानु बिष्ट, सोही ठाउँका १७ वर्षीय अलीत अवस्थी र जनकराज पन्त रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । कच्ची सडक भएकाले ब्याक गर्ने क्रममा जमिन भासिएर दुर्घटना भएको बताइएको छ ।