बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

डडेलधुरा । बैतडीमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको हो । ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना बिहीबार राती साढे १० बजे भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट बस महेन्द्रनगर आइरहेको थियो । ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक दुर्घटनामा परेको छ । मृतकमध्ये एकको मात्र सनाखत भएको छ । प्रहरीका अनुसार प्रहरी जवान रणबहादुर चन्दको सनाखत भएको छ ।

बैतडीका उनी दाङको हापुरे इलाका प्रहरी कार्यालयमा पोष्टिंगमा थिए । दुर्घटनामा ३४ जना घाइते छन् । केही व्यक्ति गम्भीर घाइते रहेको बताइएको छ ।

उनीहरुको डडेलधुरा अस्पतालमा उपचार जारी छ । बस बिहीबार साँझ पाँच बजेतिर दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ लागेको बस घुम्टी सडकमा दुर्घटनामा परेको छ । सडकबाट बस ५ सय मिटर तल खसेको हो ।