ब्याटिङ चल्न नसक्दा नामिबियासँग हार्यो नेपाल

काठमाडौं । नेपालको परम्परागत समस्याका रुपमा रहेको ब्याटिङले पुनः एक पटक महत्वपूर्ण खेलमा नेपाल चिप्लिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भयो । नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । यस जितपछि नामिबयाले अंकतालिकामा नेपाललाई पछि पारेको छ । नामिबिया १६ खेलबाट १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।

१७ खेलबाट १५ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ । नेपालका लागि आरिफ शेखले अविजित ५० रन बनाए तर उनलाई अर्का कुनै पनि ब्याट्सम्यानले साथ दिएनन् । छैटौं नम्बरमा ब्याटिङ गरेका आरिफले ८४ बल खेल्दै २ चौका प्रहार गरे । देव खनालले ३४ र कुशल भुर्तेलले २७ रन जोडे । मिडलर अर्डर र लोअर अर्डरमा आरिफ बाहेक कसैले पनि व्यक्तिगत २० रन बनाउन सकेनन् ।

करण केसीले ११ बलमा १९ रन जोडेका थिए । नामिबियाका लागि डेभिड विजा, बर्नार्ड स्कोल्ट्स र जान फ्रांकलिनले २-२ विकेट लिए । बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।