ब्यूँतियो वाइसिएल, राष्ट्रिय भेला गर्ने घोषणा

काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ब्यूँतिएको छ । केन्द्रमा माउ पार्टी ब्यूँतिएसँगै चर्चित भातृसंगठन वाइसिएल समेत ब्यूँतिएको हो । संगठनले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । सर्वोच्च अदालतको आदेश पछि एमाले र माओवादी केन्द्र पार्टी अस्तित्वमा आएका छन् । यो संगठनको काठमाडौंमा चैत ४ र ५ गते बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले राष्ट्रय भेला आयोजना गर्ने निर्णय लिएको हो ।

भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने भएको छ । संगठनलाई चलायमान गराउन राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्म भेला आयोजना हुने भएको छ । राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने छन् । बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ।