लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको छ । बकिङघम राजदरवारले यस्तो जानकारी गराएको छ । दरवारले महारानीलाई ूसामान्य चिसो लागेजस्तो लक्षण देखिएको जनाएको छ। तर उनले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ।
बीबीसीका अनुसार उनी निरन्तर स्वास्थ्य निगरानीमा रहनेछिन् र आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्नेछिन् । गत साता सङ्क्रमण पुष्टि भएका उनका जेठा छोरा प्रिन्स अफ वेल्ससँग उनको भेट भएको थियो। महारानीको निवास रहेको विन्डसर क्यासलमा धेरै जनालाई कोभिड सङ्क्रमण भएको बुझिएको छ।
पन्चानब्बे वर्षीय महारानीले यसै महिना आफ्नो शासनको ७० वर्ष पूरा गरेकी हुन्। बेलायतमा सबैभन्दा लामो शासन गरेकी महारानीको गत फेब्रुअरी ६ मा शासनको ७० वर्षे उत्सव मनाइएको थियो। त्यसको पूर्व सन्ध्यामा उनी तीन महिनापछि सार्वजनिक भेटघाटमा सामेल भएकी थिइन्।
महारानीले गत वर्षको जनवरीमा उनले कोभिड विरुद्धको पहिलो खोप लगाएकी थिइन् । त्यसपछिका मात्रा पनि लगाइको विश्वास गरिएको छ। बीबीसीका राजपरिवार मामिला सम्वाददाताका अनुसार गत अक्टोबरमा स्वास्थ्य परीक्षण पछि उनले जीवनलाई सहजै लिएकी छिन्। राजदरबारमा यसअघि प्रिन्स चार्ल्स र त्यसपछि उनकी श्रीमतीलाई कोभिड सङ्क्रमण भएको थियो।