काठमाडौं । ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आएको छ । यसअघि यो औषधी नेपालमा थिएन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कालो ढुसीका नामबाट चिनिने ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन बी नेपाललाई पठाएको हो ।
नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन बी नेपाल आएको बताइएको छ । नेपालमा कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो औषधिको सहयोग पठाउन आग्रह गरेको नेपाली संचारमाध्यमले जनाएका छन् ।
डब्ल्यूएचओले पठाएको यो औषधि भुसुनाको टोकाइका कारण लाग्ने कालाजार रोग विरुद्ध समेत प्रयोग हुन्छ । स्वास्थ्य सेवा विभागबाट थप १० हजार भाइल यो औषधिको खरिदको तयारी समेत भएको छ ।
भारतले कालो फङ्गसका कारण यसको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधि अभाव भएको हो । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसी पुष्टि भइसकेको छ । कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौंमा पुष्टी भएको छ ।