काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर काभ्रे स्थायी घर भएका ५० वर्षीय वर्षमान तामाङ र ३२ वर्षीय चतुरमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनापछि स्थानीयले आन्दोलन समेत गरेका छन् । स्थानीय र पीडित पक्षले शुक्रबार अबेरसम्म मृतकको शव समेत उठाउन दिएका थिएनन् ।
स्थानीयहरूका अनुसार उक्त स्थानमा करिब ३० रोपनीभन्दा धेरै जमिनमा अवैध रुपमा प्लटिङ गरिएको थियो । उक्त प्लटिङमा बिहीबार पनि पर्खाल लगाउने काम भइरहेको थियो । तर जग्गाधनीले खाडल नपुगेको भन्दै शुक्रबार पनि थप खाडल खन्न लगाएको बताइएको छ । शुक्रबार सोही स्थानमा पर्खालका लागि खाडल खन्ने क्रममा ढिस्को खसेर दुई जना कामदार पुरिएका हुन् ।