भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना

काठमाडौं । भगवान राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे भारतमा व्यापक निन्दा र आलोचना शुरु भएको छ । पौराणिक कालदेखि मान्यताप्राप्त इतिहासलाई बीना कुनै तथ्य बोलिदिएपछि ओलीको पुनः एक पटक निन्दा शुरु भएको हो । ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति सोमबार दिएका थिए ।

भारतको सत्तारुढ दल तथा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै कडा शब्दामा आलोचना गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नपाइने उल्लेख गरेका छन् । ओलीको आलोचना गर्दै शास्त्रीले भगवान राम आस्थाको प्रतीक भएको र यसमा कसैले पनि खेलवाड गर्न नपाउने उनको भनाई थियो ।

प्रभानमन्त्रीको अभिव्यक्तिलाई भारतीय संचारमाध्यमले समेत कच्चा कुटनीति भन्दै आलोचना गरेका छन् । ऐतिहासिक तथ्यबारे बोल्दा यथेस्ष्ट प्रमाण अगाडी सार्नु पर्ने र नभए आस्थामाथि प्रहार गर्न नपाउने उनीहरुको तर्क रहेको छ । त्यसमाथि धर्म नमान्ने कम्युनिष्ट नेताले धार्मिक तथ्यमाथि बोल्नु अझ तर्क संगत नभएको उनीहरुको भनाई रहेको छ ।