काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन्।
सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले चिकित्सा शिक्षा ऐन अनुसार मेडिकल कलेज खोल्ने सुनिश्चितता नभए भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।
‘यसअघि गत साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारको तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएको तर कार्यान्वयन नहुँदा पुन सत्याग्रह बस्न लागेको उनले बताएका छन्। यसअघिका प्रतिबद्धताहरु कार्यान्वयन नभएमा तथा सबै खाले स्वास्थ्य जनशक्ति उत्पादनका लागि चिकित्सा शिक्षा ऐन अनुसार यसै वर्षभित्र सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोल्ने तथा भौगालिक र जनसंख्याका आधारमा इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने सुनिश्चितता नभएमा यही भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं।’ विज्ञप्तिमा भनिएको छ।