काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट भरतपुरमा मेयरको उम्मेदवार बनेकी रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले बिहीबार उनलाई उनकै निवास पुगेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले फिर्ता नलिने अडान दोहोर्याएका हुन् ।
गृहमन्त्री खाणसँगको भेटमा पौडेलले चितवन कांग्रेसको भावनाअनुसार उम्मेदवारी दिएको भन्दै फिर्ता लिन नसक्ने स्पष्ट पारेका थिए । उनले उम्मेदवारी आफ्नो मात्रै नभएको कुरा खाणलाई बताएका थिए ।
“चितवन जिल्लाका साथीहरूको मान मर्यादा, प्रतिष्ठा र उहाँहरूको भविष्यका लागि उम्मेदवार बनेको हुँ, फिर्ता लिने विषय मैले मात्र निर्णय गर्न मिल्ने विषय हैन”, उनले खाणसँगको भेटबारे सञ्चारकर्मीको जिज्ञासामा भनेका छन् ।
पौडेलले खाणलाई आफुले पार्टी अनुशासन नतोडेको बताउँदै कारबाही गर्न पनि चुनौति दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा खाण बिहीबार भरतपुर पुगेका थिए । देउवाले आज मै उम्मेदवारी फिर्ता लिन सबै बागी उम्मेदवारलाई निर्देशनात्मक आग्रह पनि गरेका थिए ।