४ पुस, काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले भरतपुर चितवन स्थित निर्माणाधिन भरतपुर सिटीहलको शुक्रबार साँझ निरीक्षण गरेका छन् । २०७७ साल मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको सिटीहल निर्माण कार्य सुस्त भएको पाईए पछि निर्माणाधिन हलको निरीक्षण गरेका हुन् । हालसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उक्त सिटीहलको रुफ (छाना)को डिजाईनमा समस्या आएका कारण निर्माण कार्य करिब डेढ बर्ष अवरुद्ध भएको थियो ।
हाल रुफ (छाना)को संसोधित डिजाईन स्वीकृत भईसकेपछि निर्माण कार्य सुचारु भएको छ । निर्माण कार्यको समयावधि संसोधन गरी २०८३ असार ११ सम्म थप गरिएको छ । निर्माण सम्झौता रु। ८७ करोड ८८ लाख रहेको सिटीहलमा २००० जना क्षमताको मुख्यहल र ३०० क्षमताको सहायक हल सहित ७ वटा ब्लक रहनेछन् । मन्त्री घिसिङले मुख्य रुपमा रुफ संरचनाको डिजाईनमा भएको त्रुटिका कारण ढिला भएको पाईएको बताए । उनले सिटी हलको रुफ (छाना) संरचनाको निर्माण संगसंगै अन्य संरचना निर्माणको कार्य पनि छिटो गर्न निर्देशन दिए ।