भाइटिकाले फेरिएको हाम्रो साइनो

पासाङ नुरु शेर्पा, न्युयोर्क

कथा करिव दुई दशक अगाडिको हो । म बीस एकाइस वर्षको अल्लारे केटो थिएँ । आनन्दित उमेर जेमा पनि खुसी र उत्साह मानेर बिताउँथे ।
तर सानै उमेरदेखि नै जिम्मेवारी सहित नेपालको विभिन्न पर्यटकीय क्षेत्रहरुमा पुगेको छु । यसो गर्दा दुःखभन्दा पनि आनन्द लाग्थ्यो । यसैक्रममा विदेशी पर्यटक र नेपाली स्टाफ सबै गरेर चालीस जना जतिको समूह बनाएर लार्के पास (मनासलु राउन्ड) पदयात्राको लागि निस्केका थियौं । समूहको नेतृत्व मैले गरेको थिएँ ।
मैले सबै पक्षसँग गाँसिएर काम गर्नु पर्थ्यो ।पदयात्रा गर्दा नेतृत्व गर्ने व्यक्तिलाई पर्यटकीय भाषामा “सरदार“ भन्ने गर्छन् । त्यस मानेमा म त्यस समूहको सरदार थिएँ । क्याम्पिङ ट्रेकको ग्रुपमा जाने स्टाफमा सरदार/ गाइड, गाइड हेल्पर, सेफ/कुक किचेन ब्वाई, भान्से अतिरिक्त सहयोगी- स्पेयर ब्वाई, भरिया नाइके,भरिया गरेर विभिन्न तह अनुसार दर्जा निर्धारण गरिएको हुन्छ । दर्जानुसार सबैको आ–आफ्नो जिम्मेवारी र काम हुन्छ ।
हाम्रो ग्रुपमा विदेशीहरुको संख्या चौध जना थियो । त्यसैअनुसार नेपाली स्टाफको संख्या तीस जना सहित जम्मा चवालीस जनाको समूह लिएर हामी लार्के पास राउन्ड मनासलु ट्रेकिङको लागि निस्क्यौँ ।
बाटोभरि ठाउँ देखाउँदै, त्यहाँका खोलानाला, हिमाल, पहाड चिनाउँदै म जान्थेँ । सहज रुपमा बाटो कटाइरहेथेँ म । त्यसो त यो क्षेत्रको लागि मेरो पहिलो अनुभव भने होइन । त्योभन्दा एक वर्ष पहिला पनि मनासलु एक्सपिडिसनको नेतृत्व गर्दै त्यो क्षेत्रको यात्रा गरिसकेको थिएँ । जुन बेला ख्याल–ख्यालमा रमाइलो गर्ने बेलामा एउटा बिर्सिनै नसक्ने घटना घटेको थियो ।
त्यो प्रसंगले अहिलेसम्म मेरो मनमा एउटा चखिलो तरंग दिइरहन्छ । म त्यो घटना, पात्र र अवस्थाले बेला–बेलामा लज्जा बोध पनि गर्छु ।
त्यति बेला ठूलो एक्सपिडिसन ग्रुप भएकोले हामी लगभग सत्तरी जना जति समूहमा थियौं । हाम्रो ग्रुप जुन गाउँमा बास बस्थ्यौं प्रायः त्यो गाउँ नै ढाक्थ्यौं।
पर्यटकलाई सबै व्यवस्था गरेपछि हामी नजिकैका घरतिर जान्थ्यौँ । त्यतै बस्ने, खाने र रमाइलो गर्थ्यौं। हामीसँग आएका सहयोगी भरियाहरु विभिन्न घरहरुमा बाँडेर बस्थ्यौँ । बस्तिहरुमा त्यसरी भरियाहरुलाई पनि सहजै बास दिन्थे । पिँढी, कोठा वा घरबाहिरका बरण्डामा भरियाहरु आफ्नो लुगा ओछ्यान लगाई रात कटाउँथे ।
यसरी क्याम्पिङ गर्दै ट्रेकिङ जाने क्रममा हाम्रो क्याम्पिङ आरुघाटबाट एकदिनको बाटोमा पर्ने गाउँमा बस्नु पर्ने भयो । क्याम्पका सबै व्यवस्थाहरु मिलाइसकेपछि प्रायः गाउँमा डुल्न निस्कने हाम्रो दैनिकी जस्तै हुने गथ्र्यौ । हाम्रा केही स्टाफहरुले अगाडि नै कहाँ–कहाँ खाने, पिउनेको कस्तो व्यवस्थाहरु छन् त्यसको जानकारी लिएर दिन्थे ।
यो सामान्य प्रकृया थियो । यो बेलुकी हुने त्यस्ता भेटघाट, खानपान र रमाइलोबाट परिचितै थिएँ म । स्टाफहरुलाई प्रत्येक बेलुकी बानी बसिसकेको थियो । उनीहरुकै सल्लाह, सुझाव अनुसार केही सहयोगीहरुको साथ हामी गाउँकै एउटा सानो किनारा पसल भएको घरमा छिर्यौं । खासै पर्यटकहरुको लागि नै भनेर व्यबस्थित किसिमको खाने बस्ने व्यवस्था नभए पनि गाउँकै हिसाबले सफा, चिटिक्क मिलाइएको थियो । त्यतिबेलाको समयमा अहिलेको जस्तो सुविधासम्पन्न रेस्टुरेन्ट, पर्यटकको लागि गेस्ट हाउस खासै थिएन । जति हुन्थ्यो, त्यो पनि व्यवस्थित हुँदैनथ्यो ।
सामान्य सेवा, सत्कार हुन्थ्यो । पर्यटकहरु त्यस्तैमा रमाइरहेकै देखिन्थे । विशेष होटल, रेस्टुराँ र लजहरु बिरलै थिए ।
मैले मादक पदार्थ पिउने गरेको थिइनँ । तर मेरा सहयोगीहरु भने हुरुक्कै हुन्थे । हामी त्यहाँ पुग्नासाथ साहुनीले हार्दिकतापूर्वक बस्नको लागि गुन्द्री बिछ्याइदिइन् । मैले सहयोगीहरुलाई बियर पिउनेलाई बियर, लोकल रक्सी पिउनेलाई रक्सी किनेर दिएँ । तर म भने कालो चिया पिएर उनीहरुलाई साथ दिइरहेको थिएँ ।
दिनभरिको थकान वा परिश्रम बिर्सुन् भनेर पनि उनीहरुलाई आनन्दित गराइदिन्थेँ । फेरि यात्रा रमाइलो होस् भनेर पनि स्टाफलाई बेलुका रमाइलो गराइदिन्थेँ ।
हाम्रो लागि डिनरको व्यवस्था हाम्रै क्याम्पमै हुन्थ्यो । तर पनि केटाहरुले रक्सीसँग मासु खान मन गरेकोले मासु पनि भुट्न लगायौं । समूहको नेतृत्व मेरै भएकाले मलाई छुट्टै किसिमको इज्जत दिइन्थ्यो । नेता, नाइके वा प्रमुखको हैसियत प्राप्त हुन्थ्यो मलाई ।
तर साथसाथै केही किनेर देला भनेर धेरैको अपेक्षा पनि राखेका हुन्थे । त्यसैअनुसार उनीहरुले जे–जे मन लाग्छ अर्डर गरेर खान लगाएँ । साहुनी अन्दाजी पैंतालीस–पचास वर्ष उमेरकी जस्तो देखिन्थिन् । किचेनमा भ्याइनभ्याई थियो र पनि मैले थाहा नपाउने गरेर छिनछिनमा मतिर हेरिरहेकी हुन्थिन् । उनी कर्के नजरले हेरेको म पत्तो पाइरहथें । तर यति धेरै केटाहरुका अगाडि मैले चुपचाप बस्नु आवश्यक थियो । म थाहा नपाएको हालतमा थिएँ । सुरुमा अलि असहज जस्तो महसुस भए पनि त्यो समूहको सरदार म भएपछि मलाई विशेष ध्यान दिएको होला, भन्ने सम्झेर बसेँ ।
तर एकछिन पछि त किचेनको कामलाई एकछिनको लागि थाँती राख्दै म बसेको नजिकै आएर बसिन् र मलाई सोधिन्– ‘भाइलाई त चिने–चिनेजस्तो लाग्यो ।’
मैले पनि हल्का गफ दिइहालेँ । मलाई पनि त्यस्तै लगिरहेको छ, भनेँ । ‘त्यै त नि भाइ । तपाईं त एमानको साथी होइन’ भनेर सोधिन् ।
मलाई मनमनै लाग्यो । चिनेको जस्तो गरे भने पक्कै केटाहरुले खाएको, पिएकोमा पनि सहुलियत पाउँला र मलाई पनि राम्रै मान देला भन्ने लागेर उनले जे–जे सोधिन्, मैल हो–हो मात्रै भन्दै गएँ । उनले फेरि सोधिन्, ‘तपाईं त पोहोर साल पनि ग्रुप लिएर आउनु भएको थियो । हैन ?’
म अलि अकमकाएको थिएँ । म त्योभन्दा अगाडि म कहिल्यै त्यो ठाउँमा आएको थिइनँ । मैले आफुलाई कमजोर वा नजान्ने बनाउनु भएकै थिएन । किनभने एक त एक महिलाले सोधेको, फेरि साथीहरुको अगाडि म कच्चा पनि देखिनु भएन ।
मेरो पहिलो भ्रमण यही थियो । तर पनि ‘हो मा हो’ मिलाउनको लागि, हो नि आएको थिएँ नि, भनेर भनेको थिएँ । मसँगैको केटाहरुले पनि हो मा हो नै मिलाइरहेका थिए । यति भनेपछि कुरा मिलिहाल्यो नि जस्तो लागेको थियो । आखिर जान्ने, सुन्ने भइयो । आफ्नो इज्जत पनि अरु सामुन्ने अलिक माथिल्लो स्तरको देखाउन सकेकोमा म गमक्क परेको थिएँ ।
आ–आफ्नै सुरमा खाँदै थियौं । अचानक मतिर हेर्दै, साहुनी दिदीले मसँग रिस पो देखाउन थालिन् – ‘भाइ, तपाईंहरुको जति इज्जत हुन्छ नि– हाम्रो पनि त्यतिकै इज्जत हुन्छ ।’
म त छक्कै परैँ ।
‘हन के भयो दिदी ? हामीले त्यस्तो केही गल्ति गरेजस्तो त लागेन !’ मेरो कुरालाई बीचैमा रोक्न खोज्दै उनले फेरि भनिन्– ‘अर्काको छोरीचेलीलाई यसरी बिचल्लीमा पारेर तपाईं भाग्नु हुन्छ ? गाउँलेहरु जम्मा गरेर आज त यसबारे छिनोफानो हुनै पर्छ ।’
जंगिदै भनिन् उनले ।
म त अलमल्ल परेँ । ‘यी साहुनी दिदी के भन्नु हुन्छ’ भनेँ । फेरि रिस देखाउँदै, ‘अझ के पो भन्छ लाज पचेको मान्छे !’ भनेर भनिन् । उनको रिसमा कमी आएकै थिएन । म सोचमा परेँ । अनि मैले बल्ल बुझेँ । कसैले गरेको कर्तुतको दोष ममाथि लगाउदै छिन् भनेर । अरुको समस्या र विपत्ति मेरा थाप्लामा आएको चोट म भोग्न थालेँ । म नमिठो मान्दै थिएँ ।
गल्ति मेरै थियो । वातावरण राम्रै बन्ला भनेर नाटक नै गरेको थिएँ । सबै कुरामा हो मा हो मिलाएको थिएँ । तर परिस्थितिले त अर्कै मोड पो लियो । नसोचेको परिस्थितिसँग जुध्नुपर्ने परिस्थिति नजिक–नजिक आयो ।
अब मैले सत्य कुरा बोलेर धमिलिएको परिस्थितिलाई सहज बनाउनु बाहेक अरु त्यहाँ उपाय थिएन । मैले लामो सास फेर्दै भनेँ, ‘हेर्नु न दिदी, मैले त्यतिकै म एमानको साथी भनेको मात्रै हो । म उहाँलाई चिन्दा पनि चिन्दिनँ । र यो मेरो भ्रमण पहिलो चोटि हो यो गाउँमा । म योभन्दा पहिला आएकै थिइनँ ।’
मेरो यति कुराले उनी शान्त हुने छाँटकाँट देखिएन । र भनिन्– ‘अघि चाहिँ हो, हो भन्दै हुनुहुन्थ्यो अनि अहिले चाहिँ किन होइन ? तपाईं ढाँट्दै हुनुहुन्छ । अब तुरुन्त मेरो छोरीलाई के गर्नु पर्ने हो तपाईंले गर्नैपर्छ ।’
उनी त झन्–झन् फन्किन थालिन् । मैले अब घनघोर आपतमा परेको ठान्न थालेँ । यति कुरा सुनेपछि म त छाँगाबाट खसेझै भएँ । मैले म त्यो व्यक्ति होइन भनेर लाख कोशिस गर्दा पनि उनले पत्याइनन् । म मनमनै अत्तालिएँ । अब मैले ती केटीसँग भेटेर सही र सत्य स्थितिसँग साक्षात्कार गर्नुको विकल्प थिएन ।
अन्तमा मैले भनेँ, ‘तपाईंकी छोरी कहाँ छिन, बोलाउनुस् न । अनि उहाँले चिनिहाल्नु होला नि । म त्यो व्यक्ति होइन भनेर !’ उनको रिस अझै पनि मरेको थिएन । ‘ल, ल म छोरीलाई बोलाउँछु । तर तपाईं भाग्ने होइन नि ! छोरी आइन्जेल तपाईं यहाँ नै बस्नु पर्छ’ भनेर भन्दै गर्दा मेरा अरु सहयोगी साथीहरु छक्क परेर हेरिरहेका थिए ।
उनीहरु पनि ख्याल–ख्यालमा झेलमा परिन्थ्यो भन्ठान्दा होलान् । उनीहरुले पनि ‘हाम्रो सरदार सर पहिलो चोटि नै हो यहाँ आएको’ भनेर बुझाउने कोसिस त गरिरहेका थिए । मेरो कुरा त विश्वास गरेकी छैनन्, बिचरा उनीहरुको कुरा त के सुनुन् तिनले । तर डर थिएन । म पूर्णतः विश्वस्त थिएँ ।
किनकी उनले ठानेको जस्तो गल्ति मबाट भएकै थिएन । उनै दिदीले एक जना सानो नानीलाई अराउँदै भनिन्– ‘लौ नानी, धारामा तिम्री दिदी लुगा धोइरहेकी होली, तुरुन्तै बोलाएर ल्याऊ त ।’
सानो नानी पनि ‘हुन्छ नि हुन्छ’ भन्दै दिदीलाई बोलाउन निस्के । हामी सबै एक किसिमले अलमलमा परेका थियौँ । अब भने मलाई कता–कता डर पनि लाग्न थालेको थियो । उनकी छोरीले के पो भन्ने हुन् । कतै उनीले पनि हो नै भनेमा त म त बडो ठुलै झमेलामा पो पर्ने भयो त ! मैले घरबार जोर्दै घर जानु पर्ने भयो त ?
मुखमा चपाइरहेको मासु पनि ओकलौँ कि निलौँ भइरहेको थियो । मेरोजस्तो नाटक त्यो दिदीको छोरीले पनि गरी भने के हालत होला । अब म फसेँ, फसेँ । मनमा छटपटी बढ्यो ।
एकछिन पछि उनकी छोरी आइपुगिन् । हामीतिर हेर्दै दुई हात जोडेर नमस्कार गरिन् । हामीले पनि नमस्कार फर्कायौं ।
त्यतिकैमा ती दिदीले छोरीलाई सोधिन्– ‘उहाँलाई चिन्छौ हैन ? तिम्रो मान्छे उहाँ नै हैन ?’ छोरी अलमल हुँदै ‘को ?’ भनेर हामीतिर हेरिन् । मलाई बल्ल अलि सास आयो । किनकी ती बहिनीले मतिर कुनै संकेत नै देखाएकी थिइनन् । फेरि पनि त्यो दिदीले छोरीलाई मतिर देखाउदै सोधिन्– ‘उहाँ के, उहाँ एमानको साथी होइन । पोहोर साल अम्रिकानेहरुसँग आउनु हुँदा दुई दिन यतै बस्नु भएको थियो, हैन ? चिनेनौ ?’ गोरा मान्छे देखेपछि जुनसुकै देशबाट आएको भए पनि अम्रिकाने नै भन्दोरहेछ ।
छोरीले मतिर हेर्दै अलि लजाएको जस्तै गरेर भनिन्– ‘कहाँ उहाँ हुनु नि । आमा पनि कस्तो मान्छे नचिनेको, लाजै मर्दो । त्यतिकै अरुलाई, दोष लगाउनु भयो ।’ उनी स्वयम् पनि लाजै मानेर सामुन्ने आइन् । उनको भावमा एउटी युवतीको संकोच देखिन्थ्यो । लामो सास फेरेँ । मेरो हालत देखेर मेरा सहयोगीहरु पनि गलल्ल हाँसेँ ।

त्यतिकैमा ती दिदीले पनि हाँस्दै भनिन्, ‘किन अघि जे पनि हो हो भन्नु भएको त । मान्छे हेर्दा पनि उस्तै लाग्यो । ल माफ पाउँ है भाइ ।’
मैले पनि हाँस्दै भनेँ– ‘दिदी, गल्ती त मेरै हो नि । तपाईले अर्कै कारणले खोजिनिती गरिरहनु भएको रहेछ । के थाहा, कुरै नबुझेर मैले त हो मा हो नै मिलाएँ ।’
वातावरण अलिक सहज बनाउँदै केही अघि र अहिलेको परिस्थितिमा एकाएक फरक भयो । आँधी आएर फाटेको आकाश जस्तो भएको थियो मेरो मन । उज्यालो एकदमै चंगा । त्यसपछि सहयोगी साथीहरुलाई जिस्किने मेलो पाए । घरी–घरी भन्ने गर्थे, ‘धन्न, हाम्रो सरदार घरज्वाइँ भएर बस्नु परेन ।’

यसरी अघिल्लो वर्षको आउँदा एक क्याम्पपछि अर्को क्याम्प हुँदै क्याम्पैपिच्छे रमाइलो गर्दै हिँडेको यादहरु धेरै थियो । गत सालजस्तै यसपटक पनि मेरो ग्रुप थियो ।
हाम्रो ग्रुपका विदेशी मेम्बरहरु अलि पाका उमेरको भएकोले पनि अलि अनुभवी, सहयोगी साथीहरु आवश्यक पर्थ्यो । मैले पुराना साथीहरुलाई दोहोर्याएको थिएँ । क्याम्पिङ गर्ने ठाउँको व्यवस्थापन गर्न एक जना सहयोगी स्टाफलाई प्रत्येक दिन बिहान सबेरै अगाडि पठाइन्थ्यो । त्यसपछि कुक र किचेन वोईहरुको भान्से टिम जाने गर्यो । खासगरी भान्सा र अन्य स्टाफ पठाएपछि पर्यटकहरुलाई लैजान पर्थ्यो । त्यसो गर्दा पछि भान्साको काम गर्न उनीहरुलाई पनि समय हुन्थ्यो ।

सोती खोलाको किनारैकिनार, सयपत्री, मखमली फूलहरुले घरहरु श्रृङगारेका देखिन्थ्यो । ठाउँ–ठाउँमा दशैको लागि बनाएको पिङहरु थिए ।मौसम सफा । विहान अलिक चिसो भएपनि दिउँसो भने गर्मी नै हुन्थ्यो । माथि उक्लेपछि चिसो हुने हुनाले लगाउने लुगाहरुको राम्रो व्यवस्था थियो । गर्मी र जाडो जस्तो भए पनि खासै फरक पर्दैन्थ्यो । तिहारको समय गाउँ–गाउँका सबै मान्छेहरुमा हर्षउल्लास छाएको देखिन्थ्यो । जताततै रातो र कमेरो माटोले पातेका घरहरु उज्याला देखिन्थे । पूजा गर्न र बत्ती बालेर लक्ष्मी भित्र्याउन हरेक घरहरु सुन्दर देखा पर्थे । पिँढी, आँगन र घरहरु अत्यन्तै सजाइएका देखिन्थे ।
गाउँको नाम अहिले आएर ठ्याक्कै याद आएन, तर दुईटा अग्ला–अग्ला पहाडहरुको खोँच अनि सोती नदीको किनारमा सानो, पन्ध्र–बीस घरधुरी भएको सानो गाउँ थियो । गाउँ सानो र सफा थियो । त्यसैले बस्न लायकको थियो । हामी त्यहाँ ९:३० तिरै पुगिसकेको थियौं बिहानैको ।
बिहानको समय, उज्यालो घाम, फुलबारीको चमकले वातावरण ज्यादै मनोरम लाग्थ्यो । अझै नजिकै हिमालको चहकिलो सुन्दरताले मनभरि एउटा आनन्द खेल्थ्यो । त्यो गाउँ कटेपछि चार–पाँच घण्टाको हिँडाइसम्म पनि पनि अर्को गाउँ नभेट्ने भएकोले हामी छिटै त्यो गाउँमा आइपुगे पनि त्यो दिनको क्याम्प त्यही गाउँमा बस्नु पर्ने हुन्थ्यो ।
हामी पुग्न अगावै स्टाफले क्याम्पको सबै बन्दोबस्त गरेका थिए । हामी त्यहाँ पुग्न साथै चिया नास्ता ल्याइदिए ।
यत्तिकैमा एक जना दस बाह्र बर्षको जस्तो देखिने बहिनी नजिकै आएर भनिन्, ‘दाइ तपाईंलाई हाम्रो दिदीले घरमा बोलाउनु भएको छ, आउनु न है ।’ त्यो क्षेत्रतिर थोरै मान्छेहरुको आवतजावत हुने भएकोले हामी ठूलै ग्रुप आएपछि त को, कसको भनेर हल्लै हुन्थ्यो ।
गाउँलेका आँखाले चासो राखेर सोधखोज गर्थे । म पनि त्यस्तै सोधाइमा परिहाल्थेँ । त्यसैले पनि हामी आएको थाहा पाएर नै बोलाउन पठाएको होला भन्ठानेँ । सुरुमा म त झसङ्ग भएँ, कसले पो बोलायो भनेर । तर राम्ररी नियाल्दै गर्दा बल्ल नानीलाई चिनेँ । अघिल्लो वर्ष आउँदा सानै थिए । घरको आँगनमा गुच्छा खेलिरहेको देख्थेँ । एकै वर्षमा हलक्कै पो बढिछन् । मनमनै सोचेँ ।
‘ए हो र ? हुन्छ बहिनी म एकछिनमा आउँछु ल । तिमी जाँदै गर्नु है’ भनेँ ।
‘मेरो र त्यो बहिनीको बातचित पनि राम्ररी सुनिरहेका थिए उनीहरुले । त्यो बहिनी त्यहाँबाट जान साथै ‘के हो दाइ, दिदीले बोलाएकी छन् रे नि हँ ।’ भनेर एक जनाले प्याच्च भन्यो । मैले आँखाको इसारा गर्दै ‘केही होइन’ भने जस्तो गरेँ र मेम्बरहरुसँगको बातचितलाई निरन्तरता दियौँ ।
गेस्ट मेम्बरहरुसँगको बातचितको काम सकेपछि, टेन्टबाट मनि पर्स लिएर एक जना स्टाफलाई भनेँ, ‘ल, तपाईं पनि मसंग हिँडौँ ।’ ऊ पनि मख्ख हुँदै तयारी भइहाल्यो । मलाई कसले बोलायो भनेर सोच्न गाह्रो परेन । आफ्नै किसिमको अन्दाज थियो ।
अघिल्लो वर्ष आउँदा हामीले त्यो गाउँको घरमा खुबै रमाइलो गरेको याद झलझली आयो । अन्दाजी उन्नाइस–बीस वर्ष जतिको देखिने छोरीले आमालाई काम सघाइरहेकी थिइन् । उनीलाई सरला भनेर बोलाउने गर्थे । उनी फरासिली थिइन् । राम्री थिइन् । नयाँ मान्छेसँग चाँडै घुलमिल भै हाल्ने किसिमको बानी थियो उनको ।
उनको यो स्वभावले जो कोहीलाई मोहित बनाउँथ्यो । बेलुकी काम सकेर हामी चार पाँच जनाको समुह उनीहरुको घरमा केही खाने, पिउने निहुँमा गएको थियौँ । पछि उनीहरुका पनि दुई–चार जना साथी जम्मा भएका थिए । यो र रातभरि दोहोरी खेलेको यादहरु पनि मेरो मगजमा ताजै थियो ।
पुराना दृश्य र चित्रले मनमा पटक–पटक आउजाउ गरिरहे । म एकछिन त्यसमै हराएँ ।
अरु स्टाफहरु रक्सी र जाड पिइरहँदा मलाई ‘सरदार सर बियर पो पिउनु हुन्छ कि ?’ भनेर दुईतीन चोटिसम्म सोधेका थिए । तर मैले ‘म केही पनि ड्रिङ्क गर्दिनँ, साथीहरुले पिएको मैले पिएको जस्तै हो’ भनेर भन्ने गर्थें ।
‘ऐना हेरेर, लाऊ माया लाउनेले धोको फेरेर’ दोहोरीमा दुई पक्षबीच घम्साघम्सी हुँदै गर्दा म छेउमा बसेर ताली मारिरहेको हुन्थें। कति त बेला–बेलामा उठेर नाच्ने पनि गर्थे ।
तर म चिया पिएर बसे पनि रक्सी पिउनेहरुसँग बस्दा कता–कता मलाई पनि मात लागेको जस्तो भयो । दोहोरी गाउनमा जति नै व्यस्त भए पनि सरला मतिर पुलुक्क–पुलुक्क हेरिरहेकी हुन्थिन् । म पनि थाहा नपाएको जस्तै गरेर आफ्नै सुरमा थपडी मरिरहेको जस्तो गरिरहेको थिएँ । आफु ग्रुपको मुखिया भएकोले पनि शान्त र चुपचाप हुनु परेको थियो ।
तर मौका मिल्नासाथ मेरो नजर पनि त्यता गइरहेकै हुन्थ्यो । हामी बीच पनि एक किसिमको नजरको दोहोरी नै चलिरहेको थियो । रात पनि धेरै छिप्पेकोले केही घन्टासम्म मज्जाले चलिरहेको दोहोरी बीचैमा रोकेर हामी क्याम्पतिर आयौँ । मनमा एकखालको अनौठो भावनाले छोएथ्यो । बेलुकी ओछ्यानमा ढल्किँदा पनि धेरै बेर नाचगान, कर्के हेराइ र हाँसो ठट्टाले पछ्याउन छोडेन मलाई ।
बिहान उज्यालो भएपछि हामी सामान प्याक गरेर त्यहाँबाट निस्कने तरखर गर्दै थियौं। सरला हामीतिरै आउँदै थिइन् । ‘केही काम परेर पो आएकी हुन् कि’ भनेर सोचेँ । म नजिकै आएर भनिन्– ‘बाटोमा केही घण्टासम्म घरहरु भेटिदैन । भुटेको मकै र एउटा कोकाकोलाको क्यान हालेको छु लिनुस है सरदार सर ।’ मन्द मुस्कान दिदै दिएकी थिइन् ।
अघिल्लो रात कुरैकुरामा ‘मलाई भुटेको मकै मन पर्छ’ भनेको थिएँ । त्यसैले पनि भुटेको मकै खाजामा राखेको हुनुपर्छ । पर्दैन भने पनि करै गरेपछि मैले लिएको थिएँ । मकै बिहानै भुटेको हुनुपर्छ । भुटेको मकै तातै थियो । मैले ‘हैन किन दुख गरेको, खाजा त मेरो स्टाफले पकाइ हाल्छन् नि’ भनेर खाजा फिर्ता गर्न खोजेको थिएँ । मैले किन दुःख दिनु भनेर सम्मान गरेर लिन नमान्दा पनि केही न केही लिनै पर्ने स्थिति आयो ।
‘जे भए पनि लिनु न लिनु’ भनेपछि मैले पनि खाजालाई लिएर ब्यागमा राखेर त्यहाँबाट विदा भएँ । म पर पुग्दासम्म एकोहोरो हेरिरहेको थिइन् सरला । यिनै कुराहरुले मलाई त्यो क्षेत्रमा यात्रा गर्न आउनलाई तानिरहेको थियो ।
यी कुराहरु सोच्दासोच्दै सरलाको आँगनमा पुगेछु । ढोकामा उभिइरहेकी सरला मलाई देख्न साथै नजिक आएर भनिन्– ‘तपाईलाई संझिरहेकी थिएँ । आइपुग्नु भयो । धेरै खुशी लाग्यो ।’ उनको आवाजमा एउटा खुसी र उदासिनता थियो । उनी पहिलाको जस्तो चञ्चल थिइनन् । शान्त र मौनताभित्र हराएकी हुन्थिन् ।
उनको निधारमा लगाइरहेको सिन्दुर, गलाको पोते देखेर अनौठो लागिरहेको थियो मलाई । मेरो आँखा पनि त्यतै गएको थियो । उनी आँखातिर झरेको कपाल मिलाउदै अलि निहुरिएकी थिइन् । अप्ठ्यारो माने झै गरिन् । उनको अप्ठ्यारोपनलाई हटाउनको लागि मैले केही नभएको जस्तै नर्मल भएर कुरा गरिरहेँ । म सामान्य बाहिर भए पनि भित्रभित्र अशान्त थिएँ ।
‘के छ नि, सन्चै हुनुहुन्छ ?’
मेरो कुरालाई रोक्न खोज्दै भनिन्– ‘ठिकै छु । भाइटीकाको तयारीमा लागेको छु । समयले यस्तै गरायो । सोचेको जस्तो नहुँदो रहेछ । तपाईं आएको भन्ने थाहा पाउना साथै मैले नै बहिनीलाई बोलाउन पठाएकी हुँ । संयोग नै भन्नु पर्छ । आजै तपाई यहाँ पुग्ने अनि अनि यही समयमा पुग्ने । अब तपाईं मेरो दाजु बन्नु पर्छ’ भन्दै मलाई हातमा तानेर भित्र लगिन् ।
उनका कुराले धेरै भाव र अर्थ दिएका थिए । त्यो म बुझ्थेँ । अरुले उनको भावनालाई बुझ्न सकेनन् । मैले पनि यसबारे थप कुरा कोट्याएर चाडपर्वमय वातावरणलाई धमिलाउनु थिएन । बस जे, जे भन्छिन् हुन्छ भनेँ ।
त्यसपछि आज ‘तपाईंहरुलाई नै टीका लगाईदिन्छु है’ भनेर सोधिन् । म अकमक्क भएँ । मैले दिदीबहिनीहरुको हातबाट कहिल्यै पनि टीका लगाएको नै थिइनँ । हाम्रो समुदायमा त्यस्तो चलन नै छैन । टीका मेरो लागि बिल्कुलै नौलो अनुभव थियो । यसरी मनैबाट मान गरेर गरेपछि मैले नाइँनास्ति गर्ने कुरा पनि भएन ।
भुइँमा सुकुल बिछ्याइएको थियो । त्यहाँ एक कुनामा टपरीमा चामल, सेल रोटी, नरिवल राखिएर पूजा गरिएको देखिन्थ्यो । अरु विभिन्न देवीदेउताका तस्वीर थिए । विशेषः गरी लक्ष्मीका तस्वीरमा पूजा गरिएको देखिन्थ्यो ।
नाङ्लोमा विभिन्न टीकाको सामाग्रीको साथमा उनेको फूलका मालाहरु थिए । दियो बालिएको थियो । मासु, अचार, सेल, खानाको परिकार र चिया पिउने काम सकेपछि टीकाको लागि तयार भयो । मैले सोचेँ, टीका भनेपछि रातो सिँदुर र फूलको माला लगाइदिने होला । तर निधारमा सातै रङ्गको मिलाएर निधारभरि नै लगाइदिइन् । टाउकोमा तेल लगाएर कपाल कोरियो । ओखर फोरेर, पूजा गरेर अरु सबै विधि पनि गरियो ।
यसरी टीका र फूलको माला लगाइदिदै गर्दा यता मैले आफ्नै दिदीबहिनीहरुलाई पनि संझेको थिएँ । मसँगै टीका लगाउनेमा एक जना प्रहरी दाइ पनि थिए । हामी एक अर्कोमा परिचय पछि गफ गरेर बस्यौं। मलाई टीका लगाउँदा के, के गर्नु पर्छ केही थाहा थिएन । प्रहरी दाइले जे, जे गर्छन् मैले पनि त्यसै गरेँ । टीका लगाइदिएपछि हामीले पैसा दिनु पर्ने रहेछ । प्रहरी दाइले बीस रुपैयाको दरले टीका लगाइदिने सबैलाई दिँदै थिए । यतिको मान गरेर दाजु बनाएर टीका लगाइदिएपछि थोरै पैसा दिन पनि मनले मानेन ।
त्यसैले सरलालाई एक हजार दिएँ । त्यसपछि तीन जनालाई पाँच–पाँच सयको दरले दिएको थिएँ । त्यसपछि यसो पछाडि फर्केर हेर्छु त साना–साना बहिनीहरु पनि टीका लगाइदिने लाइनमा रहेछन् । उनीहरुलाई सय सयको दरले दिएको थिएँ । सबै गर्दा बत्तीस सय रुपैयाँ जति मैले कोसेलीमा दिएँ । त्यतिबेलाको त्यति पैसा भनेको अहिले हो भने पन्ध्र बीस हजार जतिकै हुनुपर्छ । जति नै रकम खर्च भए पनि सरला बहिनीले देखाएको आत्मीयताको अगाडि फिका नै थियो । मलाई त्यतिबेला एउटा गीत हरफ मनमनै एकदमै याद आयो– ‘के सोचे मैले, के भयो अहिले ।’ मनमा खुशी कि पीडा छुट्टाउनै नसक्ने किसिमको थियो । मेरा लागि यो एकदमै अमूल्य र अद्भूत भएको थियो । रुपियाँ र नोटबाट त्यो अनुभव किन्न वा साट्न सकिन्नथ्यो ।
मसँगै गएको स्टाफ साथी पनि ‘तिहार त हामीलाई पो लाग्यो त’ भन्दै मज्जाले खसीको मासु र चिउरा खाँदै थियो । टीकाको कार्यक्रम सकेर हामी त्यहाँबाट बिदा भयौं । भोलि बिहान हामी त्यो गाउँ छोडेर जाँदै गर्दा फरि सरला बहिनी पोहोर सालको जस्तै गरेर खाजाको फोका मलाई दिदै ‘दाइ, यसमा केही सेलरोटी र कोकाकोला राखेको छु है, बाटोमा खानु’ भनिन् । दृश्य उस्तै–उस्तै थियो । समय अलि फरक अनि साइनो फरक थियो । सरबाट दाजु भएँ । मैले पनि ‘हुन्छ बहिनी धेरै धन्यवाद छ । राम्रोसँग बस्नु है’ भन्दै बिदा भयौं । हामी पर पुग्दासम्म पनि सरला बहिनी हामीतिर हेर्दै थिइन् ।
त्यसपछि दुई दशक पुग्दासम्म टीका लगाएको सरला बहिनीसँग मेरो भेट कहिल्यै जुरेन । धेरै वर्षपछि दीपावलीको माहोलमा टीका लगाएको बहिनीलाई सम्झिदै गर्दा कता–कता हाँसो पनि उठ्यो ।
तर मेरो मनमा अनायास त्यसरी टीका लगाउने मौका जुरेको त्यस अनुभव आफुले घुमेर र हेरेर आएका हिमालजस्तै मनभित्र थपक्क उज्यालिएर बसेको छ । तिहारको मखमली र सयपत्री जस्तै ढकमक्क फुलेर मनभरि रहेको छ आजसम्मै ।