उत्तर प्रदेश । नेपालको छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यमा विषालु रक्सी सेवनका कारण कम्तिमा ५१ जनाको मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यस राज्यको अलिगढ जिल्लामा शुक्रबारबाट मानिसहरुको ज्यान गइरहेको छ । प्रहरीका अनुसार अकस्मात ज्यान गुमाएका ६२ जनाको पोष्टमार्टम गर्दा ५१ जनाको मृत्युको कारण विषालु रक्सी भएको खुलेको छ ।
अस्पतालमा ठूलो संख्यामा मानिसहरु अझै गम्भीर अवस्थामा रहेको बताइएको छ । कोरोना महामारी नियन्त्रण गर्न गरिएको लकडाउनका बीच पनि धेरै मानिस रक्सी सेवनका कारण मरेसँगै यहाँ लकडाउनबारे नै प्रश्न उठेको छ ।
सरकारीस्तरबाट भने अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टी भएको छ । घटनापछि स्थानीय प्रशासनले सबै किसिमबाट हुने जाँडरक्सीको उत्पादन तथा व्यापार बन्द गराएको जनाइएको छ । जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसमेत चार जना प्रहरी अधिकारीसमेत निलम्बनमा परेका छन् ।