भारतको कानपुरमा राष्ट्रपतिको सवारीमा फसेको एम्बुलेन्समा बिरामीको मृत्यु, तीन प्रहरी निलम्बन

Photo : Free Press Journal

कानपुर । भारतको कानपुरमा राष्ट्रपति रामनाथ कोविंदको सवारी भइरहेका बेला रोकिएको ट्राफिकमा फसेर एक महिलाको ज्यान गएको विषयले भारतमा ठूलो बहस सिर्जना गरेको छ । उच्च सुरक्षा चूनौति रहेको भारतमा भीभीआइपी सवारीका बेला लामो समयदेखि ट्राफिक रोक्ने चलन छ । शुक्रबार कानपुर यात्रामा निस्किएका राष्ट्रपतिका कारण सडकमै एक महिलाको ज्यान गएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार यो घटनामा उत्तर प्रदेश पुलिसले माफ मागेको छ ।

साथै ड्यूटीमा खटिएका तीन प्रहरी निलम्बनमा परेका छन् । उनीहरुविरुद्ध आवश्यकता भन्दा बढी समेत यातायात रोकेको आरोप लगाइएको छ । पुलिस आयुक्त तथा जिल्लाधिकारीले महिलाको अन्तिम संस्कारमा पुगि राष्ट्रपतिको सन्देश परिवारलाई सुनाएका थिए ।

मृत्यु हुने महिला वन्दना मिश्रा इन्डियन एसोसिएशन अफ इन्डस्ट्रीज कानपुर च्याप्टरकी महिला विभाग प्रमुख हुन् । सो कारण समेत यो घटना बढी प्राथमिकता पाएको हो । कानपुर पुलिस कमिश्नरको कार्यालयले ट्वीट गर्दै राष्ट्रपतिले यो घटनामा दुखः व्यक्त गरेको बताएको छ । राष्ट्रपति तीन दिने भ्रमणका क्रममा उत्तर प्रदेश पगेका हुन् । कानपुर उनको गृहक्षेत्र समेत हो ।