भारतको जम्मू कश्मीरको वैष्णोदेवी मन्दिरमा भागदौड, कम्तिमा १२ मारिए

जम्मू कश्मीर । भारतको जम्मू(कश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा कम्तिमा १२ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् । घटनामा २० भन्दा बढी घाइते छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड भएको हो । नयाँ वर्ष २०२२ को पहिलो दिन मन्दिर दर्शनमा पुगेकाहरु यस घटनामा मारिएका छन् ।

शनिबार बिहान पौने तीन बजेतिर एउटा विवादका कारण एक(अर्कामा धक्कामुक्का भएपछि भागदौड मच्चिएको जम्मू-कश्मीरका डीजीपी दिलबाग सिंहले बताएका छन् । मृत्यु हुनेमा दिल्ली, हरियाणा, पन्जाब र जम्मू(कश्मीरबाट मन्दिर दर्शनमा पुगेका मानिस छन् । जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले छानबिनका लागि समिति गठन गरेका छन् । उनले मृतकका परिवारलाई सहयोगस्वरूप १० लाख प्रदान गर्ने घोषणा समेत गरेका छन् ।