भारतको सिलिगुडीदेखि काठमाडौंसम्म बस सेवा सुरू, भाडा कति ?

काठमाडौं । भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको छ। बुधबारदेखि उक्त सिधा बस सेवा सुरु भएको हो ।

नेपाल-भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौताअनुरूप बस सेवा सुरु गरिएको हो । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो।

भारतको पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेसन (एनबीएसटीसी)को मातहतमा रहने गरी अर्बान परिवहन सर्भिस प्रालिले सिलिगुडी–काठमाडौं बस सेवा सुरु गरेको हो।

उक्त बस सेवा सातै दिन संचालन हुने जनाइएको छ । सिलिगुडीदेखि काठमाडौंको ६४५ किलोमिटर यात्रा गर्न बसमा करिब १७ घण्टा लाग्छ । उक्त रुटको भाडा १ हजार ५०० भारु (२ हजार ४०० नेपाली रुपैयाँ) रहेको छ ।

यसअघि दिल्ली–काठमाडौं मैत्री बस सेवा सुरु भएको थियो । नेपाल र भारत दुवै सरकारको पहलमा संयुक्त रूपमा दिल्ली–काठमाडौं–दिल्ली बस सेवा सञ्चालन गरिएको थियो ।